बुढानीलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच २० मिनेट छलफल

prachanda_Nepal_Deuba
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्षद्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास बुढानिलकण्ठमा पुगेर छलफल गरेका छन्। आज बुधबार नै चितवनबाट फर्केका प्रचण्ड-नेपाल सभापति देउवासँग छलफल गर्न उनकै निवास पुगेका हुन्।

देउवा निवास बुढानिलकण्ठमा प्रचण्ड, नेपाल र देउवाबिच २० मिनेट छलफल भएको छ। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै प्रचण्डले अब कसरी अघि बढ्ने भन्ने विषयमा देउवालगायत अन्य दलका नेतासँग छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे उनीहरुबिच छलफल भएको बुझिएको छ। तीन नेताबीच आगामी दिनमा सहकार्यको प्रस्ताव गरेर अघि जाने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार विकसित राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्ने विषयमा नेताहरुबीच छलफल केन्द्रीत रह्यो। उनले भने, ‘आ-आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्नेबारे कुराकानी भएको छ।’

प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्ताव मार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड-नेपाल भावी राजनीतिक समिकरणका लागि कांग्रेसको साथको खोजीमा छन्।