काठमाडाैँ। गृहमन्त्री रामबहादुर थापा पार्टीभित्र शक्तिहीन बन्दै गएका छन्। उनलाई समर्थन गरिरहेका युवाहरुको समूह छिन्नभिन्न भएसँगै थापा झन् कमजोर बनेका हुन्। आफ्नो शक्ति बढाउन पूर्वजनमुक्ति सेनामा रहेका युवाहरुलाई लिएर थापाले पुस ९ मा वाईसीएल ब्युँताएका थिए। त्यसको संयोजक आफ्नै सचिवालयमा रहेका वीरु तामाङलाई बनाएका थिए।
तर, तामाङको नेतृत्वमा रहेका युवाहरु एक्लाएक्लै ओली समूहले एकलौटी पुनर्गठन गरेको युवा संघमा प्रवेश गरेका छन्। बाँकी रहेका केही युवा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपामा प्रवेशको तयारीमा छन्। यससँगै थापालाई साथ दिँदै आएको युवाहरुको टोली तितरबितर भएको छ।
वाईसीएल ब्युँताएर ओली पक्षसँग वार्ता गरी युवा संघसँग एकता गर्ने प्रयास थापाले गराएका थिए। तर, ओली पक्षले एकतर्फी रुपमा माघ २५ र २६ गते युवा संघको भेला गरेपछि थापा पक्षका युवाले बैठक नै बहिष्कार गरेका थिए।
थापा पक्षको बहिस्कारबीच ओलीनिकट वचनबहादुर सिंहको नेतृत्वमा युवा संघ पुनर्गठन गरियो। त्यसलाई सच्याउन थापा पक्षका युवाहरुले लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतलाई भेटेर दबाब दिएका थिए। तर, त्यसको कुनै नतिजा निस्केन।
त्यसपछि ओली पक्षले एकलौटी गर्दापनि थापाले संरक्षण नगरेको भन्दै युवाहरुले थापाको साथ छाडेका हुन्। शनिबारमात्र कुमार हुमागाईं, पुष्पराज श्रेष्ठ, योगेश साउद, योगेन्द्र लामा र उज्ज्वल घिमिरे ओली पक्षमा प्रवेश गरे। यससँगै आफ्नो शक्ति छिन्नभिन्न भएको थापानिकट एक युवा नेताले बताए। ‘बादल समूह छिन्नभिन्न भयो, युवा संघमा रहेका साथीहरु व्यक्तिगत रुपमा ओली पार्टीमा प्रवेश गर्न थाल्नुभयो। अब यो क्रम झन् बढ्छ,’ उनले भने।
थापाले युवा संघमा ओली पक्षको एकलौटी रोक्न नसकेकाले आफूहरु चरम निराशाका बीच ओली पक्षमा खुल्नुपरेको कुमार हुमागाईंले बताए। ‘बाँध बनाउन खोजिएको थियो त्यो सफल भएन, अनि मैले स्टेप चालेको हुँ,’ हुमागाईंले भने, ‘२ महिना वाईसीएल र युवा संघलाई थेगेर राख्दा पनि बादल दाइले वास्तै गर्नुभएन, अनि के गर्ने? बाध्य भइयो।’ थापाको तर्फबाट युवा संघमा नेतृत्व गरेका वीरु तामाङले पनि नेतृत्वकै कारण आफूनिकट युवाहरु तितरवितर हुन थालेको स्वीकार गरे।
‘नेतृत्वले खुट्टा टेक्न सकेन,’ तामाङले गुनासो गरे, ‘उहाँहरु संगठनको इन्चार्ज हुनुहुन्छ तर गलत तबरले गरिएको निर्णयलाई गलत भन्न सक्नुहुन्न जसले गर्दा संगठन भताभुङ्ग र लथालिङ्ग भएको छ।’ टोपबहादुर रायमाझीतिर संकेत गर्दै तामाङले व्यङ्ग्य गरे, ‘जिम्मा एउटाले काम अर्काले गरेको छ।’ नेताहरुले ओलीसामु अडान नै लिन नसकेको उनको भनाइ छ।
‘नेतृत्वले साथीहरुलाई संरक्षण गर्नुपर्यो, व्यवस्थापन गर्नुपर्यो। पार्टी विधान अनुसार चल्नुपर्यो तर, त्यो भन्दा बाहिर गएर गरिएको गतिविधि पनि पार्टीकै भनिएको छ, गलत तवरले गरिएको निर्णय पनि लागू भएको छ। कोही कसैको नियन्त्रणमा छैन, चेन अफ कमान्डमा नभएपछि हुने नै यस्तै हो,’ तामाङले असन्तुष्टि जनाउँदै भने।
रायमाझी ओली पक्षको जनवर्गीय मोर्चाको प्रमुख हुन्। आफूले ओली पक्षमा जान लागेका केहीलाई रोकेर राखेको तामाङको भनाइ छ। ‘राजनीतिक रुपमा ठूलो फेरबदल आउँदैछ, साथीहरु केही दिन धैर्य गरौँ, ओलीको पक्षमा खुल्नुअघि केहीदिन कुरौँ भनेको छु,’ तामाङ भन्छन्। गृहमन्त्री थापाकै कारण युवाहरुमा निराशा छाएको र उनलाई भेट्न, छलफल गर्न नपाएको, उनले यही गर्ने भनेर निर्णय नदिएको कारण अहिलेको अवस्था आएको युवाहरुले आरोप लगाए।
‘उहाँको फिल्डमा कोही छैन, भएको युवा संघका साथीहरुपनि तितरवितर भए,’ असन्तुष्ट एक युवाले नेपालखबरसँग भने, ‘अब सबै आफ्नै तालले ओली समूहमा प्रवेश गर्दैछन्।’ अहिले ओली समूहमा प्रवेश गर्नेहरुले पनि आफूलाई गृहमन्त्री थापा समूहको भनेका छैनन्। बरु, मणि थापा, लेखराज भट्ट र टोपबहादुर रायमाझीनिकट हौँ भन्दै प्रवेश गरिरहेका छन्। ‘आन्दोलनको पक्षमा जाने निर्णय पनि नगर्ने, अनि चुनावमा जाने निर्णयबारे पनि भन्न नसक्ने भएपछि हामी स्वतःस्फूर्त रुपमा यता आयौँ,’ हुमागाईंले भने। थापा पक्षबाट प्रवेश गर्नेहरुलाई वचन सिंहले उपाध्यक्ष, सचिव र सचिवालयमा लैजाने बताएका छन्।



लोकपाटी न्यूज

