काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्धको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताएका छन्। मन्त्री त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट २० लाख डोज खोप खरिद गर्ने प्रक्रिया पूरा भएको जानकारी दिए।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ४ डलरका दरले सहुलियतमा खरिद गर्न लागेको उक्त खोप दुई साताभित्र नेपाल आउने जानकारी दिए। मन्त्री त्रिपाठीले भने, ‘प्रतिडोज चार डलर तिरेर २० लाख डोज खरिद गर्ने प्रक्रिया पूरा गरिसकेका छौं। आउने दुई हप्तामा उक्त खोप नेपाल आइपुग्ने अवस्था छ।’
खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुने पनि मन्त्री त्रिपाठीले जानकारी दिए। दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइने छ। यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने मन्त्री त्रिपाठीले जानकारी दिए।
त्यसबाहेक कोभ्याक्सले प्रतिवद्धता जनाएअनुसार साढे २२ लाख डोज खोप प्राप्तीका लागि आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरेको पनि मन्त्री त्रिपाठीले जानकारी दिए। स्वास्थ्य सचिव लक्ष्मण अर्यालले पहिलो चरणमा सञ्चालित खोप अभियानमा गण्डकी र लुम्बिनी प्रदेशमा उत्साहप्रद सहभागिता रहेको जानकारी दिए।



लोकपाटी न्यूज

