नेकपाको प्रचण्ड-माधव समूहका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि देशमा वैदेशिक हस्तक्षेप बढेको बताएका छन्।
प्रधानमन्त्री ओलीको सत्तास्वार्थले विदेशी शक्तिले खेल्ने मौका पाएको र त्यो मौका ओलीको आमन्त्रणबाट भएको पनि श्रेष्ठको विश्लेषण छ। श्रेष्ठले सामाजिक सञ्जालबाट टिप्पणी गर्दै अहिले विदेशीहरू सूक्ष्म व्यवस्थापनमा सक्रिय रहेको पनि दाबी गरेका छन्।
श्रेष्ठले भनेका छन् ‘विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्।’
देश गम्भीर संकटमा फसेको बेला संविधान र लोकतन्त्रमाथि हस्तक्षेप मात्र होइन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको प्रति श्रेष्ठले दुःख व्यक्त पनि गरेका छन् । सामाजिक सञ्जालबाट श्रेष्ठले प्रतिगमन र विदेशी हस्तक्षेपलाई परास्त हुन आह्वान पनि गरेका छन् ।




लोकपाटी न्यूज

