संसद पुनर्स्थापना नभए सबैभन्दा ठूलाे क्षति देउवाले बेहाेर्नुपर्नेछ : शेखर काेइराला

लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटन पछिको सडकक आन्दोलन वा निर्वाचन अलमलमा परेको नेपाली कांग्रेसका केही नेताले धुलिखेलमा छुट्टै भेला राखेका छन्। डा.शेखर कोइरालाले केन्द्रीय कमिटीका आठ नेतासहित २७ माघमा धुलिखेलमा भेला राखेका छन्। योजनाबद्ध नभई आकस्मिक भनिएको त्यो भेलाले संसद् पुनर्स्थापना नभए कांग्रेसकै अस्तित्वमा संकट आउनसक्ने निष्कर्ष निकालेको छ।

भेलामा सहभागी एक नेताका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन र सत्ता हस्तान्तरण गर्न संसद विघटन गरेका होइनन्, तर यो तथ्य नबुझेझैं गरी सभापति शेरबहादुर देउवा प्रस्तुत भएको विषयमा समेत छलफल भएको छ। पार्टी सभापतिमा कञ्फ्युजन होला, त्यसैले पार्टी निर्णय विपरीत अर्थ लाग्ने गरी बोल्दै हिँड्नुभएको छ। तर उहाँ ब्युँझनुको विकल्प छैन’, ती नेताले भने, ‘पार्टी बैठकले संसद् विघटनलाई असंवैधानिक भनिसक्यो, असंवैधानिकलाई संवैधानिक बनाउन गलत कदमलाई सच्याउनुपर्छ भन्ने नै हो।

भेलामा कोइराला, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परिवार, दीपक गिरी र बद्री पाण्डे सहभागी थिए। र, सर्वोच्च अदालतले संसद विघटनको विषयमा फैसला दिनुअघि नै संसद् पुनर्स्थापना हुने बातावरण बनाउनुपर्छ भन्नेमा सबैको समान धारणा थियो। छिमेकी रिझाउने र राष्ट्रपतिसहित संवैधानिक निकायलाई हातमा लिएर ओलीले संसद् विघटन गर्नुको पछाडि लामै योजना रहेको काँग्रेसले बुझ्नुपर्ने पनि भेलाले निष्कर्ष निकालेको थियो।