सिरहा। २०७५ बैशाख ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना दलित बालबालिकाको अभिभावक बनेर विद्यालय भर्ना गराएका थिए। अहिले ती बालबालिकाहरु अलपत्र परेका छन्। प्रधानमन्त्री ओली अभिभावक बनेका पवन मल्लिक (डोम) परिवारको उठिवास भएको छ।
तीन पुस्तादेखि सिरहाको कल्याणपुरमा बस्दै आएको उक्त डोम परिवारलाई प्रदेश २ सरकारको जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गरिदैछ। घर निर्माणका लागि पवनका बुबा भोगिन्द्र मिल्लकको घर तोडिएको छ। तर, घर निर्माण गर्न जाँदा स्थानीय नेकपाकै नेताहरुले अवरोध गरेका छन्।
भोगिन्द्र मल्लिकको घर रहेको उक्त जग्गा आफ्नो रहेको दाबीसहित नेकपाकै स्थानीय नेताले प्रहरी कार्यालयमा उजुरी दिएका छन्। जसकारण उनको घर निर्माण कार्य रोकिएको छ। उनीहरु जाढोमा घर विहिन भएर बस्नु परेको स्थानीय दलित अगुवा संजय महराले हुलाकी न्यूजलाई बताए।
महराका अनुसार उक्त जग्गा भागिन्द्र मल्लिकका हजुर बुबाको नाममा रहेको छ। तर, अहिले जालझेल भएको छ। ‘पहिले उक्त जग्गा गाउँबस्तीभन्दा पर थियो। अहिले बस्तीकै बिचमा रहेको छ। त्यसकारण उक्त डोम परिवारलाई त्यहाँबाट हटाउन खोजिएको छ।’ महराले भने,‘यसमा प्रधानमन्त्री ओलीकै पार्टीका कार्यकर्ताहरु सक्रिय भएका छन्।’



लोकपाटी न्यूज

