ओलीले प्रजातन्त्रको हत्या गरे : डा. केसी

लोकपाटी न्यूज

काठमाडौँ। डा‍. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले गुण्डामार्फत गराउने काम अहिले प्रहरीमार्फत गराइरहेको आरोप लगाएका छन्। शुक्रबार संसद विघटनविरुद्ध माइतिघर मण्डलामा आयोजित नागरिक खबरदारीमा बोल्दै डा. केसीले ओली तानाशाह भएको बताएका हुन्।

उनले भने, ‘ओलीजीले पहिले गुण्डामार्फत गराउने काम अहिले प्रहरीमार्फत गराउनुहुन्छ। प्रहरीले आदेश मान्ने हो। यो प्रहरीको दोष होइन। तानाशाह ओलीको दोष हो।’ उनले तीन करोड नेपाली जनताले रगत पसिना बगाएर ल्याएको प्रजातन्त्र ओलीले खोसेको बताए। अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता प्रजातन्त्रको मुख्य शर्त भएको बताउँदै डा. केसीले ओलीले त्यसमा सुरुदेखि नै निषेध गरेको बताए।

‘मैले सुरुमै भनेको हुँ ओली तानाशाह हुन् भनेर। त्यो अहिले देखिएको छ। आफ्नो निजी स्वार्थका लागि प्रतिनिधि सभा नै विघटन गरिदिए। संविधानको हत्या गरे। प्रजातन्त्रको हत्या गरे’, उनले भने। ओलीको कदमको विरोध गर्नु प्रजातन्त्रमा विश्वास गर्नेहरुको कर्तव्य भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्