काठमाडौँ। नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति मार्फत् अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका हुन्।
विज्ञप्तिमा शर्माले भनेका छन्, ‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद् र गम्भीर रूपमा लिएको छ, ‘ अतः अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ।’
शान्ति स्थापना र संविधान निर्माणपश्चात् देशमा अमनचयन स्थापना हुने, नागरिकका जीवन सुरक्षित बन्ने विश्वास बितेका वर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको उल्लेख गर्दै कांग्रेसले अनेक प्रकृतिका हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्षयता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको विषय बनेको जनाएको छ।
‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैरजिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको भन्दै शर्माले अपराधको मानसिकता निरुत्साहित गर्न कानुनी चेतावनीको भाषालाई समेत कमजोर बनाएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ- ‘महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली काँग्रेस यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ।’



लोकपाटी न्यूज

