राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

लोकपाटी न्यूज

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रहरी महानिरीक्षक शैले थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की लगायत अन्य प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सन्काएका सहायक डीन प्रा.डा. हरि अधिकारी पीजीडीपीएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा , कान्तिवाल अस्पतालका निर्देशक डा आर.पी मिच्छा , प्रतिष्ठान नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष लगायत अन्य पदाधिकारीहरू को उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा देव बहादुर बोहराले प्रमुख अतिथि लगायत सम्पूर्ण आमन्त्रितहरूको लागि स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्रतिष्ठानको इतिहासको विषयमा प्रस्ट पार्दै उनले व्यावसायिक र विशिष्टीकृत मानव स्रोत उत्पादन कार्यमा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहेको कुरा उल्लेख गरे।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिँदै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सन्काएका सहायक डीन प्रा.डा. हरि अधिकारीज्यूले प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश गरिएको पीजीडीपीएस कार्यक्रमले प्रहरी अधिकृतहरूको व्यक्तित्व विकास गरी सङ्गठनको लागि सिद्धहस्त व्यावसायिक प्रहरी अधिकृत उत्पादन गरेको कुरा बताएका थिए। त्रिभुवन विश्वविद्यालयबाट प्रहरीमा एमपीएस कार्यक्रम सञ्चालनको लागि स्वीकृति पाई सकेको अवस्थामा उक्त कार्यक्रमलाई छिट्टै सञ्चालन गर्नु पर्ने पनि बताए।

कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रहरी निरीक्षक आधारभूत तालिम १८० औँ समूहको तालिममा उत्कृष्ट स्थान हासिल गर्नुहुने प्रहरी निरीक्षकहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए। सोही अवसरमा अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापालाई प्रमुख अतिथिज्यूले लाइफ टाइम अचिभमेन्ट अवार्ड र नगद पुरस्कारद्वारा सम्मानित गरे। निरन्तर ४५ वर्ष नेपाल पहरीको प्रशिक्षण क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएका कोमल बहादुर थापालाई उक्त अवार्ड प्रदान गरिएको हो ।

विशेष बढुवाद्वारा प्रहरी हवलदार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुनुभएका मन्दे काजी श्रेष्ठलाई पनि प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रमुख अतिथिज्यूले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। प्रहरी सहायक निरीक्षक मन्दे काजी श्रेष्ठ नेपाल प्रहरीका तथा राष्ट्रिय स्तरका कराते खेलाडी हुन। १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा कतारे खेल तर्फ दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठले अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा विभिन्न पदक हासिल गरेका छन्।

प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक शैले थापा क्षेत्रीले आफूले प्राप्त गरेको सफलताको पछाडि प्रतिष्ठानको अभूतपूर्व र अतुलनीय योगदान रहेको कुरा बताए। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्राप्त ज्ञान र सिपलाई सेवा अवधिसम्म अक्षुण्ण राख्न सक्ने बानीको विकाससमेत प्रतिष्ठानले प्रशिक्षार्थिहरुलाई दिनु पर्ने विषय उल्लेख गर्दै पुरस्कृत हुनु हुने प्रहरी निरीक्षकहरुलाई बधाई ज्ञापन गर्नुका साथै उनिहरूको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरे। सोही क्रममा बोल्दै उनले लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित हुनु हुने अवकाश प्राप्त प्रहरी निरीक्षक कोमल बहादुर थापा तथा पदोन्नति हुनुभएका प्रहरी सहायक निरीक्षक मन्दे काजी श्रेष्ठलाई बधाई दिँदै सुख, सु-स्वास्थ्य तथा प्रगतिको कामना गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्