काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई गैरकानुनी रुपमा प्रहरीले पक्राउ गरेको खुलेको छ। बिहीबार दिउँसो शंखलमुलस्थित निवासबाटै प्रहरीले नेतृ झाँक्रीलाई पक्राउ गरेको थियो।
मुलुकी संहिता ऐन २०७४ को दफा ५८ अनुसार कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुअघि प्रहरीको अपराध महाशाखाले मुद्दा हेर्ने अदालतसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर, झाँक्रीलाई पक्राउ गर्ने सन्दर्भमा प्रहरीले अदालतसँग अनुमति लिएको छैन।
काठमाडौं जिल्ला अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले दिएको जानकारी अनुसार राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ गर्नुपूर्व अदालतबाट अनुमति लिनुपर्छ तर रामकुमारी झाँक्रीको विषयमा अहिलेसम्म जानकारी अदालतमा पुगेको छैन। निरौलाले भने, ‘अनुमति लिएर पक्राउ गरिएको होइन र अहिलेसम्म जरुरी पक्राउको सूचना पनि आएको छैन। भोलि सार्वजनिक बिदा भएकाले बेलुकासम्म आउला कि।’
त्यसो त, झाँक्रीलाई पक्राउ गर्न निवास पुगेको प्रहरीले सुरुमा पक्राउ पूर्जीसमेत लगेको थिएन। कुनै लिखित निवेदनभन्दा पनि गृह मन्त्रालयको ठाडो निर्देशनमा झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको देखिन्छ। पूर्वन्यायाधीश बलराम केसी पनि झाँक्रीलाई पक्राउ गरिहाल्नुपर्ने कारण नभएको बताउँछन्।
झाँक्रीको अभिव्यक्तिलाई वाक स्वतन्त्रतासँग जोडिने न्यायाधीश केसीको तर्क छ। केसी भन्छन्, ‘झाँक्रीले कसैलाई उक्साउने भड्काउने खोजेको देखिँदैन। यो त वाक स्वतन्त्रतासँग जोडिन्छ। यस्तोलाई पनि पक्राउ गर्ने हो भने कसैले लेख्न बोल्न नै भएन।’ –शिलापत्रबाट साभार



लोकपाटी न्यूज

