काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीकी नेता रामकुमारी झाँक्री गिरफ्तार भएकी छिन्। बिहीबार उनलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको थियो। झाँक्रीलाई पक्राउ गर्न नदिनका लागि उनका समर्थकहरु निवासमा पुगेका थिए। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका थिए।
त्यतिञ्जेल झाँक्री भने मिडियालाई प्रतिक्रिया दिइरहेकी थिइन्। उनले आफूले आफ्नो अभिव्यक्ति स्वतन्त्रता प्रयोग गरेको बताएकी थिइन्। केही दिनअघि गोरखाबाट राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी थिइन्। तर, पदको लिंग नहुने र सार्वजनिक पदमा आसिन व्यक्तिको आलोचना गर्न पाइने उनको भनाइ थियो।
सुरुवातमा प्रहरीले पक्राउ पूर्जी नदिएकाले झाँक्रीले गिरफ्तारी दिन अस्वीकार गरेकी थिइन्। प्रहरीले पनि समर्थकको भीडबाट झाँक्रीलाई पक्राउ गर्ने आँट गरेको थिएन।
हरीले नियन्त्रणमा लिनु अगाडि उनले प्रतिगमनको विरुद्ध र लोकतन्त्रका लागि लडिरहँदा अभिव्यक्त गरेको आधारमा पक्राउ पूर्जी गरेको जानकारी दिइन्। उनले कानुनको पालना गर्दै आफूले गिरफ्तारी दिएको बताइन्। उनले राज्यको कानून पालना गर्न आएका प्रहरीमाथि कुनै अमर्यादित व्यवहार भएको भए क्षमा दिन आग्रह गरिन्। उनलाई राज्यविरुद्धका कसुर अन्तर्गत दफा ५८ कसुरमा पक्राउ गरेको हो।
अहिले झाँक्री निवासमा उनका समर्थकले नाराबाजी गरिरहेका छन्। उनीहरुले प्रतिगमन मूर्दावाद, प्रहरी हस्तक्षेप बन्द गरलगायतका नारा लगाइरहेका छन्।
झाँक्रीले गोरखाको कार्यक्रममा भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’
बुधबार विरोध सभामा पनि राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउँदा आलोचना भएको भन्दै झाँक्रीले आक्रोश समेत व्यक्त गरेकी थिइन्। उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्ध नबोलेर र व्यक्तिको प्रवृत्तिविरुद्ध आवाज उठाएको जिकिर गरिन्। उनले भनिन्, ‘कार्यकारी प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्सजस्तै प्रधानमन्त्री या मन्त्रिपरिषदका निर्णयहरुलाई खुसुस्क सही छाप गर्ने राष्ट्रपतिका विरुद्ध आवाज उठाएको हो। यो राष्ट्रपति सम्मानीय संस्था हो। यो हाम्रो बलिदानीले प्राप्त गरेको संस्था हो। हाम्रो शीरमाथिको संस्था हो।’
‘त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरुंकुशको सांक्षी बस्छ भने त्यस्ता व्यक्तिको विरुद्धमा बोल्न पाइन्छ। एउटा खलपात्रकाविरुद्ध बोल्दै गर्दै कसले भन्छ महिला अस्मिता मिचियो भनेर ? बोल्न पाइन्छ,’ उनले भनिन्।



लोकपाटी न्यूज

