काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुँदोरहेछ देख्नुभयो भनेर प्रश्न समेत गरे।
प्रचण्डले केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?’ प्रचण्डले आजको सभालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देखेको हुनुपर्ने बताए।
“मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ। देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ। त्यसो भएन भने आँधी आउँछ । हिजो सानो समूहले विद्रोह गर्दा के भयो ? अब नेपालमा ‘ग्रीन रिभोलुसन’ हुन्छ। यत्रो जनताको आवाजलाई नसुन्ने ? सानो समूहको कुरा सुन्ने हुनसक्छ ?”
अध्यक्ष प्रचण्डले आवश्यक परे जनताले बालुवाटार र सिंहदरबार पनि घेर्ने बताए।
प्रचण्डले भने, ’हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउने छन्। जरुरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौं।’



लाेकपाटी न्यूज

