भोलिको विरोध प्रदर्शनमा सहभागी हुन प्रचण्ड-नेपालको अपील (भिडियोसहित)

Prachanda_Nepal_Nekapa
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ २८ गते काठमाडौंमा गर्ने विरोध सभामा सहभागी हुन सबैलाई अपील गरेको छ। नेकपाका अध्यक्षद्वय अध्यक्ष प्रचण्ड र माधव नेपालले संयुक्त भिडियो सन्देश जारी गरेर विरोध सभामा सहभागी हुन अपील गरेका हुन्।

प्रतिनिधिसभा विघटनलगायतका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बुधबार नेकपाले काठमाडौंको भृकुटीमण्डपमा बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ। संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड-नेपाल पक्षले भोलिको जनसभालाई सशक्त बनाउने तयारी गरेको छ।

आफूहरुको आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने अभियान पनि भएको बताउँदै प्रचण्डले बताएका छन्। ‘हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु,’ प्रचण्डले भनेका छन्।

यसैगरी नेपालले विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न प्रदर्शन गर्न लागिएको प्रचण्ड-नेपालले बताएका छन्।