डोटी, २७ माघ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार भएको बताएका छन्। नेपाल प्रेस संगठन सुदूरपश्चिमले सोमबार कैलालीको धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टले नेपालको संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने भनी उल्लेख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका हुन्।
सोही कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री भट्टले नेकपाका नेता प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीमोह लागेकाले पार्टीको यस्तो गति भएको आरोप लगाए। नेकपाका नेताद्वय प्रचण्ड–माधवले केटाकेटी पारा देखाएका कारण पार्टी र कार्यकर्ताको बिचल्ली भएकोसमेत मन्त्री भट्टले आरोप लगाए।
नेकपा प्रचण्ड–माधव समूहले गएको पुस १७ गते धनगढीमा आयोजित सभामा प्रचण्डले आफूलाई महादलालको संज्ञा दिएको भनेको भन्दै नेता भट्टले आपत्ति जनाए। सुदूरपश्चिमका अर्का नेता डा. भीमबहादुर रावलतर्फ इन्कित गर्दै मन्त्री भट्टले सम्बन्धित विषय नपढेको, जनता नबुझेको नेता डाक्टर भएपछि उनै डाक्टरलाई बोकेर हिँडेका कारण प्रचण्ड–माधवलाई अहिले झनै बढी समस्या भएको बताए।
यसैगरी मन्त्री भट्टले आफू प्रचण्डको कार्यकर्ता नभई सहयोद्धा भएको स्पष्ट पारे। सोही कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले प्रचण्ड–माधवको उद्देश्य पवित्र नभएका कारण आफूले साथ नदिएको बताए। नेपाल समाचारपत्रमा समाचार छ।



लाेकपाटी न्यूज

