भोली प्रचण्ड-माधव समूहको बृहत प्रदर्शन : कहाँ-कसलाई तोक्यो कमान्डर ?

लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध २८ माघमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी समेत तीव्र पारेको छ।

नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडांैका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ। यसका लागि कमान्डर पनि तोकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ। देशव्यापी रुपमा आन्दोलन गरिरहेको नेकपाले बुधबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ।

नेकपाले काठमाडौंको प्रदर्शनीमार्ग मार्गमा जनसभा आयोजना गर्न लागेको हो। नेकपा केन्द्रीय संघर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निस्कने जुलुसको नेतृत्व गर्न कमान्डर तोकेको हो।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा सङ्घ–प्रदेशका सांसदले गर्ने भएका छन्।त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन्।

त्यस्तै, माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने भएका छन्।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्ने भएका छन्।

यसैगरि, जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत सङ्गठन हेर्ने केन्द्रीय सदस्य, पेशागत सङ्गठन हेर्ने केन्द्रीय सदस्यले भएका छन्।

नेकपाले बुधबारको प्रदर्शनलाई व्यापक बनाउने जनाएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागी हुने भएका छन्।

मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ। सबैतिरका जुलुस मुल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदय मोड हुदै प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ।