‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा मैले तय गरेको हुँ : खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा तत्कालिन एमालेको नवौं महाधिवेशनका लागि तय गरिएको बताएका छन्। खनालले नवौं महाधिवेशनका लागि आफूले तयार पारेको समेत दाबी गरेका छन्। उनले पार्टी एकतापछि पनि ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई निरन्तरता दिइएको बताए।

‘नवौं महाधिवेशनको राजनीतिक दस्तावेज मैले नै लेखेको हुँ। कम्युनिष्ट आन्दोलन सुरू भएको ७० वर्ष पुग्न लाग्दै गर्दा अबको नारा के तय गर्ने भन्ने मलाई लागेको थियो,’ उनले भने, ‘जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्था छ। त्यसैले अब कम्युनिष्ट पार्टी स्थापनाको शताब्दी पुग्दा सुखी नेपाली, समृद्ध नेपालीको एजेण्डा लिएर त्यसलाई सम्पन्न गर्नुपर्छ भनेर यो नारा तय भएको हो।’

२०७१ को असारमा काठमाडौंको भृकुटी मण्डपमा भएको तत्कालिन नेकपा एमालेको नवौं महाधिवशेनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमा यो विषय उल्लेख गरेको खनालको दाबी सेतोपाटीले लेखेको छ। ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई भाषणमा भने पनि ब्यवहारमा भने लागू नगरेको खनालको आरोप छ। २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनले खनाललाई तत्कालिन एमालेको अध्यक्ष चयन गरेको थियो।