काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शनिबार रिपोर्टर्स् क्लबमा बोल्दै दीक्षितले देश ठूलो संकटमा रहेको बताएका हुन्।
उनले भने, ‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण अवस्थामा छौं। देशको अवस्था यस्तो छ कि निकट भविष्यमा के हुन्छ ? भन्ने पनि थाहा छैन। यो अन्यौलग्रस्त र डरलाग्दो स्थिति हो। हामी जनताले धोकामात्रै पायौं। नेकपाका नेताहरुले ठूलो पाप गरे। केही काम गरेनन्।’
डा. दीक्षितले आफूहरु जनताले नेकपा नेताहरुको पदीय भागबण्डा र लोभका कारण धोका पाएको भए पनि प्रचण्डको ग्रुपले चाहीँ ओली नमरिदिएकोले धोका पाएको भन्दै कडा टिप्पणी गरे। उनले भने, ‘नेकपाले सरकार गठन गरेको दिनदेखि, त्योभन्दा अलिक अगाडि दिनदेखि नै यिनीहरुबीच यत्रो झैझगडा भएको रहेछ, मुलुकको त वास्ता रहेनछ उनीहरुलाई, उनीहरु त कसले प्रधानमन्त्री पड्काउने ? कहिले पड्काउने ? अढाई वर्ष पड्काउने कि अहिले पड्काउने ? भनेर बसेका रहेछन्।’’
उनले अहिले पनि नेपाल कोरोनाको जोखिममा रहेको अवस्था सुनाए। तर, नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्ने काम नेताहरुले गरिराखेको उनको गुनासो छ। उनले भने, ‘आफू प्रधानमन्त्री बन्नका लागि जनता मार्ने ? दिनहुँ आन्दोलन भएका छन्, खोई मास्क ? नेताहरु त स्वार्थी र लोभी रहेछन्।’
उनले ओली र प्रचण्ड भित्रभित्र काटाकाटको अवस्था रहेको तर बाहिर देखाउँदा मिलेकोजस्तो गरेर नाटक गरेको पनि आरोप लगाए। उनले भने, ‘झन ओली र प्रचण्ड त मिल्न सम्भव नै थिएन। अहिले माधव नेपालले प्रचण्डको साथ लिएर ओलीलाई खेद्दैछन्।’ दीक्षितले नेकपालाई जनताले दिएको भोट त कुहिएर गएको रहेछ भनेर हिनताबोध गरे।
दीक्षितले लोकतन्त्रको खम्बा भनेको न्यायापालिका भएको भन्दै यसलाई कमजोर पार्ने काम कसैबाट पनि हुन नहुने धारणा राखे। तर, अहिले न्यायलाई पनि कमजोर तुल्याउने काम भइरहेको भन्दै उनले दुःख व्यक्त गरे। उनले भने, ‘हामीले न्यायलाई कमजोर बनायौं भने डेमोक्रेसी बच्न गाह्रो हुन्छ।’
उनले नेकपाका विभाजित शक्तिहरु दुवैको आ–आफ्नो दाउ र रणनीति रहेको पनि सुनाए। प्रचण्ड र माधव नेपाल संसद पुनःस्थापनाको पक्षमा उभिएको र ओली चुनावको अन्तिम तयारीमा जुटिसकेको पनि उनले सुनाए। उनले संसद विघटनको मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहसको क्रममा रहेकोले यो विषयमा बाहिर जथाभावी टिप्पणी गर्न नहुने धारणा राखे। उनले भने, ‘सर्वोच्च अदालतलाई कसैले पनि लत्याउनु हुँदैन। बरु, संसदको बारेमा बोलौं। तर अदालतको विषयमा नबोलौं।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अदालतको फैसलाप्रति सम्मान गर्ने भनेर लिएको अडान सही रहेको भन्दै उनले प्रशंसासमेत गरे।
उनले प्रधानमन्त्री ओलीको हाउभाउ हेर्दा पनि उनी निर्वाचन जाँदैछन् भन्ने कुरा निश्चित भएको पनि सुनाए। उनले भने, ‘केपी ओली चुनावका लागि रेडी छन्। प्रचण्ड र माधव नेपाल समूह निर्वाचनमा नजाने भन्दैछन्। भोलि निर्वाचन भयो भने सबै दल निर्वाचनमा सहभागी हुन्छन्।’
दीक्षितले प्रधानमन्त्री ओली संकटकाल लगाएर भए पनि निर्वाचनमा जाने सुनाए। चुनाव हुने भयो भने कोही पनि पाँच वर्षका लागि बाहिर नबस्ने भन्दै सबै दल निर्वाचनमा जाने पनि उनले दाबी गरे। भोलि राष्ट्रपतीय शासन लागू भए पनि त्यो ओली नै शासन गर्ने पनि उनले सुनाए ।
उनले आज दलहरु सडकमा उत्रिनुको कुनै कारण नै नभएको पनि जिकिर गरे। अदालतमा विचाराधीन भएको विषयमा यसरी सडकमा आन्दोलन गर्नुको कुनै तुक नहुने उनको भनाइ छ। उनले नेपालमा यस्तो खालको संसदीय व्यवस्था चल्न नसक्ने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीय शासन चाहिने आवश्यकता औंल्याए।



लोकपाटी न्यूज

