निर्वाचन आयाेगले जालझेल गर्‍यो भने महंगो पर्नेछ : प्रचण्ड

prachanda-butwal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्ट (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने चुनाव अवैधानिक हुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका छन्। यो असंवैधानिक भएको भन्दै परेको १३ वटा रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ। साथै नेपाली कांग्रेस, प्रचण्ड-माधव समूह, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल आन्दोलनमा छन् भने नागरिक समाज पनि सडकमा छ।

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले कसैलाई सेटिङ अनुसार खुरुखुरु फैसला हुन्छ र जनताले मान्छन् भन्ने लागेको छ भने त्यो भ्रम मात्र हुने बताए। ‘हामीले बुझेको के हो भने संविधान मिचिएको छ, लोकतन्त्रको हत्या गर्ने प्रयास भएको छ। त्यसलाई करेक्सन गर्ने हो’ उनले भने। उनले अघि भने, असंवैधानिक र अलोकतान्त्रिक कदम हुने, अनि त्यसैले गरेको चुनाव बैधानिक हुन्छ ? नेपाली जनताले खुरुखुरु मान्छ ? मान्दैन।’

त्यस्तै उनले प्रधानमन्त्री ओलीले ‘आइएम द स्टेट’ भन्न थालेको पनि बताए।उनले भने, ‘ओलीजी आइएम द स्टेट भन्न थाल्नुभएको छ।’ ओलीले पार्टीभित्र अल्पमतमा परेको वास्तविकता स्विकार्न नसकेको बताउदै उनले थपे, ‘हामीले जालझेल गरेर बहुमत बनाएको हो र ? पार्टीमा अल्पमत भएपछि निर्णय मान्ने कि प्रणाली नै भाँच्दिने ?’ सिंगो देश नै ओलीको असंबैधानिक कदमको विरोधमा रहेको बताउदै उनले प्रश्न गरे, ‘सिंगो देश ओलीको विपक्षमा किन छ ? किन उहाँले कसैको विश्वास जित्न सक्नुभएन ?’ निर्वाचन आयोगले कानुनसम्मत फैसला गर्नेमा आफु ढुक्क रहेको पनि उनले बताए। उनले भने, ‘निर्वाचन आयोगले कानूनअनुसार फैसला गर्नुपर्छ। गरेन भने त्यो राम्रो हुँदैन।’ त्यस्तै सर्वोच्च अदालतले संविधान अनुसार नै फैसला गर्छ भन्ने आफूहरुलाई विश्वास रहेको उनले बताए। ‘गरेन भने के हुन्छ ?’ भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अदालतले विघटन सदर गरे पनि चुनाव हुँदैन। असंवैधानिक चुनाव हुँदैन, त्यो असफल बनाइन्छ।’