सेना र प्रहरीका बन्दुकसँग नडराउदैनौ : पूर्वमन्त्री पुन

Barsaman_pun
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन्। संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड-नेपाल पक्षले बिहीबार गरेको आम हड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन्।

ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने उनको भनाइ छ। बिहीबार बुटवलमा र केही दिनअघि चक्रपथमा सेनाका गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको आरोप छ। ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे।

केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए। सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे।

‘सेनाका गाडी र ट्याङकर निकालेर जनता तर्साउन खोजिएको छ। हामी सबै लडेर आएका छौं। जनता लडेर आएको छ’, पुनले भने, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्नु हुन्न। पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ?’

पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षत र सचेत रहेकाले धम्कीसँग नडराउने बताए। राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने चेतावनी पुनले दिए। ‘ज्ञानेन्द्र देशैभर ¥याली गर्दै हिँडे। लाखौं जनता महाराज भन्दै जान्थें। बुझें, सुनें भन्दै टाउको हल्लाएर हिँडेका थिए। आज कहाँ टाउको हल्लाउँदै हिंडेका छन् थाहा छ कि छैन ?’, पुनले भने, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ।’