काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अझ सशक्त आन्दोलन गर्ने बताएका छन्। बिहीबार पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सातदोबाटो पुगेका उनले सरकारले संविधान मिच्ने काम गरेको बताए । उनले भने, ‘लोकतन्त्रमाथि प्रहार भएको छ । त्यसका लागि सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन् ।’
उनले आफूहरुको आन्दोलन लोकतन्त्रको रक्षाका लागि भएको बताए । ‘जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो,’ उनले भने, ‘यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो।’
संवैधानिक परिषद् र भूमि आयोगमा बल मिच्याइँ तरिकाले सरकारले नियुक्ति गरेको विरोधमा आन्दोलन गर्नुपरेको दाहालले प्रस्ट्याए ।
उनले आन्दोलनलाई अझ सशक्त बनाउँदै लैजाने बताए । ‘हामी अझ ठूला आन्दोलन गर्ने छौं । २८ गते विशाल प्रदर्शन गर्नेछौं,’ दाहालले भने, ‘फागुनको पहिलो हप्ताबाट जनआन्दोलन हुन्छ। ठूलो जनआन्दोलन हुन्छ। त्यसले सबै लोकतन्त्रविरोधीहरुलाई बढार्छ।’
२३ गते ओली समूहले राजधानीमा गर्न लागेको सभालाई दाहालले पञ्चर्यालीको संज्ञा दिएका छन् । उनले सरकार आफैंले जुलुस निकाल्नु भनेको पञ्चायतमा निकालिने पञ्चर्यालीजस्तै भएको बताए। ‘आफैं संविधान मिच्ने, संसद् विघटन गर्ने अनि मानिस भेला पार्ने भनेको पञ्च र्याली नै हो,’ दाहालले भने,’संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगहरुमा नियुक्त गरिएको छ। यो जंगल राजजस्तो भयो।’



लोकपाटी न्यूज

