काठमाडौं। प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको प्रचण्ड-नेपाल पक्षले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ। बुधबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले पूर्वनिर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आमहड्तालको घोषणा गरेको जनाएको छ।
देशभर आम हड्ताल गर्नु आफूहरुको बाध्यता भएको प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले सरकारी गुण्डाराज अन्त्य गर्नका लागि संघर्ष गर्नुपर्ने बताए। संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि आम हड्तान गर्नुपर्ने अवस्था सिर्जना भएको नेता श्रेष्ठले बताए। लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकार अघि बढेको उनको आरोप छ। ओली सरकारविरुद्ध सशक्त आन्दोलन विकल्प नरहेको प्रवक्ता श्रेष्ठले बताए।
नेकपा नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थिति आएकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको बताइन्। ‘बिहान मिर्मिरेमै संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाएको नाटक भयो। असंवैधानिक रूपमा सुनुवाइ नगरी सपथ गराइनु निरंकुशता र जबरजस्तीको पराकाष्ठा हो,’ भुसालले भनिन्,‘संविधान र लोकतन्त्रको रक्षा र फासिस्ट जंगलराजको अन्त्य गर्न जरूरी छ। हामी संवैधानिक आयोगको सपथ खारेजीको माग गर्छौं। भोलि देशव्यापी आमहडतालको आह्वान गरेका छौं।’
उनका अनुसार भोलि अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने बताइन्। उनले पार्टीले अब प्रतिगमन विरूद्ध जुनसुकै कमद चाल्ने पनि उल्लेख गरिन्। ‘हामी अब प्रतिगमनको खारेजीका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुन्छौं। यसका लागि सबैसँग सहयोगको अपेक्षा गरेका छौं,’ भुसालले भनिन्। असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै दाहाल-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन गरिरहेको छ। नेकपाले २८ गते राजधानीमा बृहत प्रदर्शन गर्दै छ।




लोकपाटी न्यूज

