भोलि प्रचण्ड-नेपाल नेकपाको देशव्यापी आमहड्ताल

prachanda_nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा प्रचण्ड-माधव पक्षले भोलि (बिहीबार) आम हड्ताल गर्ने घोषणा गरेको छ। पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल घोषणा गर्ने निर्णय गरेको हो।

संसदीय सुनुवाई नगरी संवैधानिक नियुक्ति, भूमि व्यवस्था आयोगमा भएको नियुक्ति लगायतको विरोधमा आमहड्ताल गर्ने निर्णय भएको एक नेताले बताए। भोली बिहीबार देशव्यापी रुपमा राजनीतिक हड्ताल घोषणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड-नेपाल पक्षले आमहड्ताल आयोजना गरेको हो। आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।

‘भूमि समस्या समाधान आयोग गठन र पदाधिकारी नियुक्ति, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र शपथ विरुद्ध भोलि आम हड्ताल गर्ने निर्णय भएको छ,’ नेकपा संघर्ष समितिका एक नेताले भने, ‘अहिले पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिइनेछ।’

कामचलाउ सरकारले धमाधम नयाँ नियुक्ति गर्ने तथा संसदीय सुनुवाइविना नै संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आन्दोलनका कार्यक्रम केन्द्रीत हुने बताइएको छ। यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ।