काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपालमा प्रतिनिधि सभा भंगको विषय सर्वोच्च अदालत, संवैधानिक सिद्धान्त र प्रजातान्त्रिक प्रक्रिया अनुसार हल गर्ने विषय भएको प्रतिक्रिया दिएका छन् ।
नयाँ राष्ट्रपति जो वाइडनका विश्वव्यापी र नेपाल प्राथमिकताबारे सोमबार केही सञ्चारकर्मीहरुसँग कुराकानी गदै राजदूत बेरीले भने,‘नेपाल एक सार्वभौम मुलुक हो, यहाँ सार्वभौम संस्थाहरु छन्। नेपाल र संसारभरि अमेरिकी चासो भनेको प्रजातान्त्रिक प्रणालीले काम गरोस् भन्ने हो।’
‘यहाँ संविधान छ, कानुन छ। अमेरिकाले नेपालमा प्रजातन्त्र, त्यसका संस्था र प्रक्रियालाई निरन्तर सहयोग गदै आएको छ,’ राजदूत बेरीले अघि भने, ‘सर्वोच्च अदालत छ, संवैधानिक सिद्धान्तहरु छन्, ती विषयमा छलफल हुनुपर्छ र समाधान गर्नुपर्छ।’
कुनै पनि समस्या आउँदा अमेरिकामा पनि संवैधानिक र प्रजातान्त्रिक प्रक्रियाद्वारा हल गर्ने गरेको उनले सुनाए। सत्तारुढ नेकपाभित्रको विवादबारे सोधिएको प्रश्नमा भने राजदूत बेरीले यस विषयमा बोल्ने र पोजिसन लिने आफ्नो विजनेस नभएको बताएका छन्। ‘नेकपाभित्रको विवादमा हामी कुनै पनि पोजिसन लिदैनौं किनभने यो हाम्रो विजनेस होइन’ उनले भने।
अमेरिकी राजदूत बेरीले मिलेनियम च्यालेन्च कर्पोरेसन(एमसीसी)बारे समेत खुलेर बोलेका छन्। राष्ट्रपति परिवर्तनले कुनै पनि खालको असर नगर्ने भन्दे उनले भने, ‘हाम्रो लागि एमसीसी कुनै राजनीतिक इकाई होइन, यो खाली विकास र आर्थिक हाँगो हो।’
‘हाम्रो राजनीतिक संक्रमणले एमसीसीलाई कुनै पनि खालको असर गर्दैन। एमसीसीको अर्को चरण भनेको यहाँको संसदबाट अनुमोदन हो। नयाँ राष्ट्रपति आउँदैमा एमसीसीको आधारभूत आकार र स्वरुपमा कुनै पनि परिवर्तन हुन्न।’
नयाँ प्रशासनले इन्डोप्यासेफिक रणनीतिलाई कसरी अगाडि बढाउँछ भन्ने प्रश्नमा उनले यस क्षेत्रमा अमेरिकाको प्राथमिकता र नीतिमा खासै परिवर्तन नआउने बताए। उनले भने, ‘तपाईंले इन्डोप्यासेफिक भनेपनि, एसिया प्यासेफिक भनेपछि वाइडन प्रशासनले हिन्द महासागर क्षेत्रलाई महत्वपूर्ण रुपमा लिन्छ र अमेरिकाको राष्ट्रि सुरक्षाका लागि यो क्षेत्र महत्वपूर्ण छ।’
उनले अमेरिका खुल्ला, स्वतन्त्र, पारदर्शी र विधिमा आधारित इन्डोप्यासेफिकको पक्षमा रहेको बताए। वाइडन प्रशासनले इन्डोप्यासेफिक रणनीतिलाई निरन्तरता दिन्छ कि नयाँ नामाकरण गर्छ भन्ने पनि बहस छ। राजदूत बेरीले नामभन्दा विषयवस्तु प्रधान हुने बताए।
अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्छ ? भन्ने प्रश्नमा राजदूत बेरीले भने, ‘हामी नेपालको सार्वभौमसत्तालाई उच्च प्राथमिकता दिन्छौं। नेपालसँग हामी विशेषगरी विकासका एजेण्डामा सहकार्य गरिरहेका छौं, जुन नेपालको आवश्यकताले प्रेरित हुन्छ।’ राजदूत बेरीले बाइडेन कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा कुनै पनि परिवर्तन हुने बताएका छन् ।
नेपाल-अमेरिका सम्बन्धको मुख्य आधार विकास सहयोग भएको भन्दै उनले भने, ‘अमेरिकाको नेपालसँगको आधारभूत नीतिमा परिवर्तन हुन्न। दुईपक्षीय सम्बन्ध विकास सहयोगले निर्देशित गरेको छ। प्रजातान्त्रिक, सार्वभौम, समावेशी र आर्थिक रुपमा समृद्ध नेपालले मात्र अमेरिकाको राष्ट्रिय सुरक्षा चासो सम्बोधन गर्छ।’



लोकपाटी न्यूज

