आयोगलाई खनालको प्रश्नः खेलाडी मैदानमा नआई चुनाव कसरी हुन्छ ?

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै अवस्थामा चुनाव हुन नसक्ने बताएका छन्। पार्टी आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा पुगेका नेता खनालले दलहरूबिचको विवाद समाधान नभईकन चुनाव हुन नसक्ने बताएका हुन्।

उनले भने, ‘हामी अहिले बहुदलीय व्यवस्थामा छौँ। विवाद निरूपण नभई चुनाव हुन्न। चुनावका खेलाडी भनेका दल हुन्। विवाद निरूपण नभई खेलाडी मैदानमा नआई चुनाव हुने कुरै आउँदैन।’ खेल खेल्नका लागि खेलाडी तयार हुनुपर्छ भन्ने कुरा आफूहरू भन्दा धेरै निर्वाचन आयोगले नै बुझेको हुनुपर्ने नेता खनालको भनाई छ।

उनले नेकपाको आधिकारिकता निर्वाचन आयोगले आफूहरूलाई दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताए। आयोगसमक्ष आफूहरूले बलियो प्रमाण पेस गरेकोले आफ्नो पक्षमा निर्णय आउनेमा शतप्रतिशत विश्वस्त रहेको उनले बताए।

खनालले भने, ‘दल विभाजन गर्ने शक्ति (बहुमत) नभए पनि राजनीतिक रूपमा विभाजित पार्टीको एउटा सानो टुक्रा त बालुवाटार पनि हो, आधिकारिकताको दाबी उसले पनि गर्न पाउँछ, तर अब वास्तविक आधिकारिक को हो त ? दल ऐनमा टेकेर निर्वाचन आयोगले निरूपण गर्नुपर्छ, तथ्यहरूका आधारमा। त्यो समय आइपुगेको छ।’

खनालले राजनीतिक रूपले दल विभाजन भए पनि कानूनीरुपमा नभइसकेकाले यसको निरूपण आयोगले गर्ने बताए। केपी ओलीलाई पार्टीको विधानबमोजिम नै हटाएको उनले दाबी गरे।