दाँत दुखेर हैरान हुनुहुन्छ ? घरमै यसरी निको पार्नुहोस्

Beautiful Teeth
लोकपाटी न्यूज

आजभोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन्। दाँतको उपचार महंगो पनि पर्छ। तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं। यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन्।

ल्वाङको तेल : दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ। ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस्। अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस्। त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस्। यसले दुखाइ कम गर्छ।

खोकीको गोली : खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन्। यस्ता गोली चुस्नुस्। गोली नचबाउनुहोला है।

मजाले दाँत माझ्नुस् : दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथ वाशले कुल्ला गर्ने सबै थोक गर्नुस्। कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ।

काँक्रो : काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ।

टिब्याग : दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ। टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ।

अदुवा : अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस्। त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस्। बिस्तारै दुखाइ कम हुँदै जान्छ।

किन हुन्छ दाँत सिरिङ–सिरिङ ?

हामी सबैलाई थाहा भएकै कुरा हो दाँतको बाहिरी भागलाई इनामेल भनिन्छ। इनामेलभन्दा भित्रको भाग डेन्टिन हो। सबैभन्दा भित्रको भागलाई पल्प भनिन्छ। विभिन्न कारणबस इनामेल खिइँदा डेन्टिन देखिन्छ र सिरिङ–सिरिङ हुन्छ। डेन्टिनमा रहने नशाहरु संवेदनशिल हुन्छन्।

विभिन्न कारण इनामेल खिइन्छ :

गलत तरिकाले तथा धेरै बल लगाएर दाँत माझ्नाले इनामेल खिइन पुग्छ र डेन्टिन देखिन्छ। अनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउँछ। एसिड भएको खानेकुराको सेवन, पेटको समस्याले जसले गर्दा अमिलो पानी आउँछ र इनामेल खियाउँछ।

कसै–कसैको सुत्दाखेरि दाँत किट्ने बानी हुन्छ। यस्तो बानी नियमित गर्नाले इनामेल खिइन्छ। मुख सफा नराख्नाले गिजाको रोग जस्तै गिजा तल सर्ने भएर दाँतको जरा देखिन पुग्छ र सिरिङ–सिरिङको समस्या आउँछ। यदि नमिलेको दाँत छ भने पनि टोकाइ नमिलेर दाँत खिइन सक्छ।

अन्य कारणहरुः

दाँत कीराले खायो भने पनि सिरिङ–सिरिङ गर्ने समस्या आउँछ। पहिले भरेको दाँतको सिमेन्ट निस्कियो भनेपनि सिरिङ–सिरिङ हुन्छ। एकपटक भरेको दाँतमा फेरि कीराले खान सुरु गर्‍यो भने पनि यो समस्या आउन सक्छ।

कहिलेकाहीँ सिमेन्ट भरेपछि, ब्लिचिङ गरेपछि पनि दाँत सिरिङ–सिरिङ हुनसक्छ। तर त्यो केही समयपछि आफैँ सन्चो हुन्छ। कहिलेकाहीँ एसिडयुक्त मुख कुल्ला गर्ने औषधिको प्रयोगले पनि दाँत सिरिङ–सिरिङ हुने समस्या आउनसक्छ।

सिरिङ–सिरिङबाट बच्ने उपायहरु :

सही तरिकाले ब्रस गर्नुपर्छ। ब्रस कडा छ भने नरम ब्रसको प्रयोग गर्नुपर्छ। एसिडभएको खानेकुरा सकेसम्म नखाने अथवा कम खाने, यदि सेवन गरेमा प्रशस्त मात्रामा पानी पिउने बानी बसाउने। ग्यास्ट्रिकसम्बन्धी समस्याको उपचार गराउने।

सुत्दाखेरि दाँत किट्ने बानी छ भने दन्त चिकित्सकको तुरुन्तै परामर्श लिइहाल्ने र माउथगार्ड लगाउने। दिनको दुइपटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने बानी बसाउने, फ्लोराइड भएको माउथवास,  फ्लस प्रयोग गर्ने र दाँत, गिजा स्वस्थ राख्ने। यदि खैनी, चुरोट सेवन गर्ने बानी छ भने तुरुन्तै त्याग्ने।

उपचार :

यदि दाँत सिरिङ–सिरिङ हुने समस्या छ भने तुरुन्तै दन्त चिकित्सककहाँ गएर कारण पत्ता लगाउनुपर्छ। कारणअनुसार उपचार फरक पर्छ।

संवेदनशीलतामा  प्रयोग गर्ने मन्जनहरु थुप्रै नाममा बजारमा उपलब्ध छन् जुन दुई हप्ताजति प्रयोग गरे सिरिङ–सिरिङको समस्या बिस्तारै कम भएर जान्छ। यदि गिजा धेरै तल सरेर दाँतको जरा देखिएर यस्तो समस्या आएको हो भने सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। यसो गर्दा देखिएको दाँतको जरा छोपिन्छ र समस्या कम भएर जान्छ।

दाँत किट्ने बानीले यो समस्या आएको हो भने माउथगार्ड लगाउनुपर्छ। दाँत किराले खाएर यो समस्या आएको हो भने तुरुन्त दन्त चिकित्सककहाँ गएर दाँत भरिहाल्नुपर्छ। यदि पहिले भरेको दाँतको सिमेन्ट निस्किएको छ भने फेरि भर्नुपर्छ। सकेसम्म पेटको समस्याको उपचार छिट्टो गराइहाल्नुपर्छ।

नमिलेको दाँतको अर्थोडोन्टिक उपचार गराउनुपर्छ, जसमा तारको सहायताले नमिलेको दाँत मिलाइन्छ र दाँत अझै खिइनबाट बचाउन सकिन्छ। यदि माथि उल्लेखित उपचार गर्दा पनि निको नभएमा रुट क्यानल उपचार गराउनुपर्ने हुन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्