काठमाण्डौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भएको बताएका छन्। सोमबार आफ्नो समूहको केन्द्रीय कमिटीको चौथो बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले पार्टीको आधिकारिकता कसैलाई पनि नदिएर चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेको बताएका हुन्। निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका सवालहरू उठाउन खोज्नुले षड्यन्त्र भइराखेको अनुभूति भएको उनले दाबी गरे। केन्द्रीय कमिटीमा एक चौथाई सदस्य समेत नरहेको केपी ओली पक्षको आधिकारिकता हुनै नसक्ने दाबी गर्दै अध्यक्ष नेपालले आफूहरू नै आधिकारिक भएको बताए।
उनले भने, ‘निर्वाचन आयोगले यसबीचमा हामीलाई पत्र पठाएको छ र त्यो पत्रमा उसले आधिकरिकताका सवालहरू उठाउन खोजेको देखिन्छ। प्रष्ट के छ भने पार्टीको आधिकारिकता कोसँग रहन्छ? केपी ओलीसँग, जोसँग एक चौथाई केन्द्रीय सदस्य पनि छैनन्, त्योसँग पार्टीको आधिकारिकता हुन सक्दछ? दावा गर्न मिल्छ? त्यसो हुनाले सबै सवालहरूको बारेमा हामीले समुचित जवाफ दिनुपर्ने आवश्यकता छ। हरेक षड्यन्त्र भइरहेका छन्, पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, चुनाव चिह्न कसैलाई पनि नदिएर फ्रिज गर्ने खालका ठूला षड्यन्त्रहरू भइरहेको छ।’
विगतमा पनि यस्ता षडयन्त्रहरू भइरहेको तर निर्वाचन आयोगले कानुन र यथार्थको आधारमा निर्णय गरेको नजिरहरू रहेकाले यसपटक पनि आयोगले निष्पक्ष निर्णय गर्ने उनले विश्वास व्यक्त गरे। उनले भने, ‘हामीले सम्झनुपर्दछ, विगतमा पनि अनेक षड्यन्त्र भएका थिए तर तत्कालीन समयमा निर्वाचन आयोगका पदाधिकारीहरू कुनै दबाबको सामु झुकेनन्, उनीहरूले कानुन हेरे, यथार्थलाई हेरे, कानुन र यथार्थको आधारमा निर्णय गरेका छन्। ती निर्णयहरू नजिरका रूपमा रहेका छन् । ती नजिरहरूलाई बेवास्ता गरिकन अनेक ढङ्गले चल्ने किसिमका प्रयत्न हुन सक्दछन्। त्यो हुनाले हामी होसियार बन्न आवश्यक छ।’
अध्यक्ष नेपालले नेकपाको आधिकारिक नेतृत्व आफूहरूको नै रहेको दाबीसमेत गर्नुभएको छ । दुई तिहाई केन्द्रीय समितिको निर्णयलाई पन्छाएर कसैले अघि बढ्ने सपना देखेको भए सम्भव हुन नदिने समेत उनले बताए।



लोकपाटी न्यूज

