काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रपथ रहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै उनले संसदमा विश्वासको मत लिने आँट नगर्ने ओली ज्ञानेन्द्रपथमा रहेको बताए।
नेता सिंहले आम नेपाली जनताले सडकबाट दबाव दिएपछि ओलीको होस खुल्ने बताउँदै उनले भने, ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ।’ राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउने विश्वास व्यक्त गरे।
ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरूपयोग गरेर, जनभावना विपरित संविधान कुल्चेर संसद विघटन गरेको नेता सिंहको दावी छ। उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार भएको बताए।
संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै नेता सिंहले भएको संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिड्न गतल भएको बताए। प्रतिनिधिसभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहान रचेको उनको भनाइ छ। ओलीले आफू तानाशाह बन्नका लागि प्रतिनिधिसभा भङ्ग गरेको उनको जिकिर छ।
संविधानको विशेषता शक्ति सन्तुलन भएकाले यसलाई यसलाई सुधार गरी चेक एण्ड ब्यालेन्समा राख्ने काम न्यायपालिकाको भएको नेता सिंहको भनाइ छ। सरकारले सत्तामा पुगेपछि आसेपासे पोस्ने गरेको आरोप लगाउँदै उनले नेकपालाई नामको मात्र कम्युनिस्ट पार्टी भएको बताए।



लोकपाटी न्यूज

