नेकपा बैठक : रित पुर्‍याएर ओलीमाथि कार्वाही, नेकपा र सूर्य चिन्ह पाउने निश्चित !

लोकपाटी न्यूज

काठमाडौं। नेकपाको संस्थापन पक्ष प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो। बैठकमा निर्वाचन आयोगले माग गरेबमोजिम रितपूर्वक ओलीलाई कार्वाही गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी स्थायी समितिले गरेको निर्णय अनुमोदन गर्ने एक केन्द्रीय सदस्यले जानकारी दिए। यस्तै बैठकले निर्वाचन आयोगमा जाने विषयमा पनि निर्णय गर्नेछ।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध चरणबद्ध आन्दोलन गरेको समीक्षा गरेर नयाँ संघर्षका कार्यक्रम घोषणा गर्ने सम्भावना रहेको छ। नेकपाको पुस ७ देखि ९ गतेसम्म केन्द्रीय समितिको बैठक सोही स्थानमा भएको थियो।

केन्द्रीय समितिको बैठकको एजेन्डा तय गर्नका लागि आजै स्थायी कमिटीको बैठक समेत बसेको थियो।

आकस्मिक रुपमा प्रचण्ड–नेपाल पक्षले कन्द्रीय कमिटी बैठक बोलाएपछि नेकपाको ओली पक्षले बहने केन्द्रीय कमिटी बैठक नबोलाइएको बताएको छ। आइतबार राति ओली पक्षको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले आज प्रेस नोट जारी गरी हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको बताइएको छ।

विज्ञप्तिमा पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने स्पष्ट गरेको उल्लेख छ। प्रचण्ड–नेपाल पक्षले भने २१ गतेसम्म प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा धर्ना दिने कार्यक्रम आइतबार नै समापन गरेर केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमा निर्वाचन आयोगको पछिल्लो पत्र र पार्टी आधिकारिकताबारे नै छलफल हुने नेताहरुले बताएका छन्। यसअघिको बैठकले ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट हटाएर रिक्त स्थानमा माधवकुमार नेपाललाई नियुक्त गरेको थियो। तर निर्वाचन आयोगले यो वैधानिक नभएको ठहर गरिसकेको छ।

प्रचण्ड–नेपाल समूहसँग नेकपाका दुईतिहाई केन्द्रीय सदस्यहरुको समर्थन भए पनि प्रक्रिया पु¥याउन नसक्दा यसअघि निर्वाचन आयोगले उक्त समूहको दावीलाई बैधानिकता दिएको थिएन। संस्थापन समूहको रित नपुगेका कारण ओलीलाई अध्यक्षबाट हटाएको निर्णय मान्य नभएकोले प्रचण्ड–नेपाल समूहले कानूनसँग मिल्ने गरी अध्यक्ष ओलीलाई पार्टीबाट हटाउने भएको हो।

नेकपाको अन्तरिम विधान २०७५ मा केन्द्रीय सदस्यलाई कार्वाही गर्दा पार्टी केन्द्रीय समितिको बहुमत र पदाधिकारीलाई कार्वाही गर्दा दुईतिहाई चाहिने प्रावधान छ। प्रचण्ड–नेपाल समूहले विधानको त्यही व्यवस्थामा टेकेर ओलीमाथि कार्वाही गरेर ओलीको स्थानमा अर्का अध्यक्ष माधवकुमार नेपालको नाम अद्यावधिक गराएर पार्टीको आधिकारिता र चुनाव चिन्ह लिने तयारी गरेको हो।