काठमाडौं। नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका छन्। आइतबार माइतीघरमा जारी नेकपाको धर्नामा बोल्दै पाण्डले ओलीले माघ २३ गते हिन्दुराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका हुन्।
उनले ओली पक्षको २३ गते हुने कार्यक्रमका लागि राजावादीहरूलाई सहभागी हुनका लागि उर्दी जारी भएको पनि बताए। पाण्डले भने, ‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ। ओली यो बाटोमा लाग्न सक्छन्।’ ओली समूहले २३ माघमा काठमाडौंमा आमसभा गर्दैछ।
केही दिन पहिले ओलीले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको उल्लेख गर्दै पाण्डेले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेका छन्।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले दक्षिणपन्थीहरु खुसी भएको पनि बताए। पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डे ओलीले धर्मको आधारमा आफ्नो राजनीतिलाई अघि बढाएको आरोप लगाए। उनले ओलीका पछिल्ला कदमले उनी अब कम्युनिस्ट नेता नरहेको पुष्टि भएको पनि बताएका छन्।
राजावादीहरुले अहिले उनलाई राजनेता भन्न थालेको पनि पाण्डेले बताए। पञ्चायत कालमा कम्युनिस्ट नेताहरुमाथि गोली हान्न निर्देशन दिनेहरुले नै ‘अहिले नेपालमा ओलीजस्तो राजनेता कोही छैनन्’ भन्न थालेको पनि उनले बताए। उनले प्रधानमन्त्री ओलीले समाजवादको यात्रामा घात गरेको पनि आरोप लगाए ।



लोकपाटी न्यूज

