सुर्खेत भेलामा श्री ५ को सरकार भनेको हुँ : मणि थापा

Mani thapa
लोकपाटी न्यूज

काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले सुर्खेतमा आयोजित सभालाई सम्बोधन क्रममा भुलवश श्री ५ को सरकार भन्न पुगेको बताएका छन्। मन्त्री थापाले आफूले नेपाल सरकार भन्न खोजेको तर भुलवश श्री ५ को सरकार पुगेको स्वीकार गरेका हुन्।

उनले आफूले उक्त शब्द तत्काल सच्याएको पनि बताएका छन्। मन्त्री थापाले आइतबार सामाजिक सञ्जालमार्फत भुलवश उक्त शब्द प्रयोग हुन पुगेको प्रति क्षमा पनि मागेका छन्। सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलामा थापाले श्री ५ को सरकारका तर्फबाट म यहाँहरूलाई अभिवादन व्यक्त गर्दछु भन्दै सम्बोधन सुरु गरेका थिए।

उनले त्यसलाई तत्कालै सच्याएका थिए। सामाजिक सञ्जालमा माफी माग्दै उनले लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरा शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुबिधा नराखिदिनुहुन अनुरोध गर्दछु।’ उनले आफ्नो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको भन्दै पश्चगमनका पक्षमा आफ्नो साथ नहुने समेत बताएका छन्।

उनले भनेका छन्, ‘मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’

सामाजिक सञ्जालमा थापाले लेखेका छन्ः

शनिवार नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ।

आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुबिधा नराखिदिनुहुन अनुरोध गर्दछु।

मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु।
भुलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।