धनगढी। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले राम्ररी पार्टी चलाउन नसकेका कारण समस्या निम्तिएको बताएका छन्। धनगढीमा आयोजित विरोधसभामा नेपालले भने, ‘कुर्सीको तानातानका लागि होइन, न त ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोज्दा नै हो, समस्याको कुरो चुरो भनेको नै ओलीले राम्ररी पार्टी चलाउन नसक्नु हो।’
उनले ओली समूहले थपेका केन्द्रीय सदस्यको बिजोक भएको पनि बताए। थपिएका केन्द्रीय सदस्यलाई बुर्का लगाइदिन उनले सुझाव दिए। नेपालले भने, ‘निर्वाचन आयोगले निर्णय पठाएपछि ओलीका फुर्ती सिद्धियो। गुटमा म्यादी प्रहरी जसरी केन्द्रीय सदस्य भर्ती गरिएको थियो।
उनले अगाडि भने, ‘केन्द्रीय सदस्यका टिकटहरू बाँड्न थालिएका थिए। अहिले टाँय टाँय फिस भयो। हिस्स बुढी खिस्स दाँत भया। बिजोक भयो। अहिले त लाज लाग्दो होला, म केन्द्रीय सदस्य हुँ भन्दा पनि। यदि मास्कले पुगेन भने एउटा बुर्का लगाइदिनुहोला, ती बिचराको बिजोक भएको छ।’
नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी ‘डुप्लिकेट’ भएकोले त्यहाँ गएकालाई फर्किन आग्रह समेत गरे। ‘४४० मध्ये ३ सय हामीसँग छन्, ओलीसँग सय जना पनि पुग्दैनन्, सय जना पनि नभएको पार्टी ओर्जिनल हुन्छ कि डुप्लिकेट ?,’ उनले भने, ‘केपी ओलीको पार्टी त डुप्लिकेट पार्टी हो, नक्कली पार्टी हो, त्यहाँ कोही जानुभएको छ भने फर्किहाल्नुहोस्, त्यहाँ अन्धकार मात्रै छ।’
उनले केपी ओलीको समूहमा लागेर गल्ती भएको महसुस गर्नेहरूलाई फेरि स्वागत गर्न तयार रहेको बताए। ‘भ्रममा परेर जानेहरूलाई फेरि स्वागत गर्न तयार छौँ। होइन, यदि सति नै जाने हो भने बिचरा गए भन्नुपर्ने हुन्छ। केपी ओलीसँगै स्वाहा हुने मन त भने त्यतै बस्नुस्। केपी ओली कुसन्तान भएर बिग्रिए भनेर धेरै चिन्ता नगर्नुस्। सुध्रिन्छन् कि भन्ने भ्रम भए कोशिष गर्नुस्। तर बालुवा पेलेर तेल निस्किँदैन।’
नेपालले केपी ओली सरकारले निर्मला पन्तको हत्यारा पत्ता लाउन काम नगरेको बताए। ओली सरकारकै बेला कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। त्यो घटनाका दोषीलाई कारबाहीका लागि पार्टीमा कुरा भएको नेपालले बताए। उनले केपी ओलीको सरकारले त्यता ध्यानै नदिएको आरोप लगाए।
नेपालले भने, ‘केपी ओली सरकारको पहिलो गाँसमा नै झिँगा पस्यो। उनको सरकार बने लगत्तै निर्मला हत्याकाण्ड भयो। अब यसको लक्षण राम्रो छैन भन्न लागेको थियो। लक्षणबाटै थाहा भयो यसले राम्रो ढंगले काम गर्दैन।’ ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन उनले आग्रह गरे। नेपालले भने, ‘ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नुभएको छ भने भ्रमबाट मुक्त हुनुहोस्।’
यस्तै नेता नेपालले केपी ओली कहिल्यै पनि गणतन्त्रको पक्षमा नरहेको बताए। उनले भने, ‘केपी चुनाव गराउन चाहँदैनन्। देश अस्तव्यस्त बनाउन चाहन्छन्। लोकतन्त्र सकिए पनि गणतन्त्र सकिए पनि उनलाई मतलब छैनन्। ओली कहिल्यै गणतन्त्रको पक्षमा थिएनन्।’



लोकपाटी न्यूज

