विराटनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनपरि गुण्डागर्दी गर्दैमा संसद् विघटन नहुने बताएका छन्। नेकपा प्रदेश १ ले विराटनगरमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रचण्डले केपी ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन्।
उनले पार्टी एकता भएपछि सबै क्षेत्रका जनतालाई समृद्ध बनाउन सकिन्छ भन्ने सपना देखेर पार्टी एकताको प्रस्ताव गरेको बताउँदै अहिले केपी ओलीको महाराज बन्ने खोजेको बताएका छन्। तर, केपी ओलीको महाराज बन्ने सपना पूरा हुन नदिने बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले जरुरी पर्यो भने संसदको बैठक बसेर केपीलाई कारबाही गरेर जानेसक्ने भए पनि सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर कुरेर बसेको बताए। उनले संविधानको रक्षा गर्नु कर्तव्य रहेको बताउँदै संविधान रक्षाका लागि जोसँग एकताको प्रस्ताव गरियो उसैले ३ वर्ष नहुँदै उनले धोका दिएको बताए।
उनले केपी ओली बेइमान, धुर्त, ठग भएको र उनको पछाडि राजा महाराजाका धुपौरे मात्रै लागेको बताए। केपी ओलीका केही मान्छेले सबैतिर सेटिङ गरेको भन्ने सुनेको बताउँदै जनताले गरेको सेटिङ मान्ने हुने तर, केपीले गरेको सेटिङ मान्ने नहुने बताए।
‘प्रचण्ड’ले संसद् भंग नभएको बताउँदै बरु केपी ओली नेतृत्वको सरकार विघटन भएको टिप्पणी गरेका छन्। उनले संविधानले प्रतिनिधि सभा भंग गर्ने कल्पना नगरेको दाबी गरे। प्रतिनिधि सभा विघटन भएपछि केपी ओली सरकारको वैधानिकता समेत नहुने बताए।

प्रचण्डले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छोराछोरी र ज्वाइँबाहेक अरु कसैलाई नहेरेको भनेर गरेको टिप्पणीलाई समेत खण्डन गरेका छन्। यसअघि सार्वजनिक कार्यक्रममा ओलीले प्रचण्डले परिवारबाहेक आफ्ना योद्धाका छोराछोरीलाई कहिल्यै नहेरेको आरोप लगाएका थिए। त्यसलाई खण्डन गर्दै प्रचण्डले निःसन्तान हुनुमा आफ्नो दोष नभएको बताए।
‘म नपुंशक भइनँ। निःसन्तान भइनँ मेरो दोष हो ?’ आक्रोशित हुँदै प्रचण्डले भने, ‘निःसन्तान नहुनु मेरो दोष होइन। जसले शान्ति र समृद्धिको लडाइँमा नयाँ युगतिर लान पहल गर्यो। जसले त्याग र बलिदानमा होमियो त्यसलाई यसरी आरोपित गर्न पाइँदैन।’
आफूले विकास र समृद्धिको सपना देखेको बताउँदै प्रचण्डले त्यो अपराध हो ? भन्दै प्रतिप्रश्न गरेका थिए। प्रतिनिधि सभा विघटन गरेपछि सबै जनता जागिसकेकाले त्यसको फैसला गरेरै छोड्ने प्रचण्डको दाबी छ।



लोकपाटी न्यूज

