काठमाडौँ। नेपालको संविधानका मस्यौदारले संसद् जिउँदो जाग्दो अवस्थामा रहेको बताएका छन्। विघटित प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नराखिएको बताएका छन्।
कानुन व्यवसायीसमेत रहेका निवेदक पोखरेलले भने, ‘हामी निदाएको अवस्था हो। हामी १७ गते बिउँझिने थियौं। मृत्यु नै नभएको मान्छेलाई मृतक घोषणा गरिएको छ। संसद् जिउँदोजाग्दो छ श्रीमान्। यो संविधानको मस्यौदाकारमध्ये म पनि हो। संसद् विघटनको कुरा कुरा कहीँ राखिएको छैन।’
नेकपा दाहाल–नेपाल पक्षका नेतासमेत रहेका पोखरेलले प्रधानमन्त्रीलाई कुनै पनि विषयमा प्रतिनिधिसभाले अप्ठ्यारो नपारेको बताएका छन्। ’प्रतिनिधिसभा जिँउँदै छँदै निदाइरहेको बेलामा जाग्ने १२ दिन अगाडि प्रधानमन्त्रीले मृत भयो भनेर घोषणा गर्नुभयो,’ पोखरेलले भने। प्रधानमन्त्रीले संसद्प्रति उत्तरदायी हुने विश्वासप्रति अलिकित पनि रुची र सम्मान नदेखाएको पनि उनले बताए। ‘प्रधानमन्त्रीलाई सुत्ने बेला संसद् विघटन गर्नुपर्छ लाग्यो र बिहान विघटन गर्नुभयो,’ उनले भने।
प्रधानमन्त्री ओलीले २०१७ पुस १ गतेको शब्द सापटी लिएर आफ्ना कदमलाई सही ठहर्याउन खोजेको पनि पोखरेलको भनाइ थियो। ‘उहाँले राष्ट्रहितका लागि भन्नुभएको छ। के हो राष्ट्रहित जनहित ? कोभिड नियन्त्रण गर्नका लागि दुई तिहाइ चाहियो ?
हामी सांसदले ११ महिनाको तलब बुझायौं। तर उहाँले राजेन्द्र महतोको पार्टी कसरी विभाजन गर्न सकिन्छ भनेर अध्यादेश ल्याउनुभयो,’ पोखरेलले बहसका क्रममा भने।



लोकपाटी न्यूज

