‘आफ्नो स्वार्थका लागि ओलीले देश नै बेच्दिन सक्छन्’

Krishna Pahadi
लोकपाटी न्यूज

कपिलवस्तु। मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री खड्गप्रसाद ओली प्रधानमन्त्री भएदेखि नै सेटिङ, भेटिङ र फिक्सिङमा लागेर आफू मात्र नेपाल र म मात्र सत्ता हो भन्ने पक्षमा लागेको बताएका छन्। कपिलवस्तुको तौलिहवामा आयोजित प्रतिगमन विरुद्धको सभामा बोल्दै पहाडीले केपी ओलीले राज्यसंन्यत्रका सबै निकाय सेटिङ गरेर कब्जा गरेको बताए।

त्यस्तै विदेशी शक्तिसँग भेटिङ अर्थात भेटघाट गरी जताततै मिल्ने वा अरु देशको चाहना पूरा गराउन लागेकोसमेत उनले आरोप लगाए। त्यस्तै आफू लगातार प्रधानमन्त्री बन्नका लागि संसद विघटन गरी लामो समयसम्म प्रधानमन्त्री बन्न फिक्सिङ गरेकोसमेत पहाडीले बताएका छन्।

पहाडीले दल र नेताप्रति जनताको वितृष्णा बढेको भन्दै नेता तथा दल सुधारिएर लोकतन्त्र बचाउन र सविधानको रक्षा गर्न लाग्नुपर्ने बताए। साथै उनले निर्वाचन नहुने तथा संसद पनि पुन स्थापना हुन नसकेमा देशमा अराजकता र दुर्घटना हुनसक्ने बताएका छन्।

खड्कप्रसादजीले जता जहाँ गए अनावश्यक बोल्दै हिडेको कारण, जात, धर्म, संघीयताजस्ता पक्षमा आन्दोलन हुन सक्ने र अशान्ति हुनसक्ने भन्दै सबै जनतालाई लोकतन्त्र बचाउन र खड्गप्रसाद ओलीको असंवैधानिक कदमप्रति नागरिक सचेत भएर आन्दोलनमा उत्रनसमेत उनले आग्रह गरेका छन्।

कार्यक्रममा कांग्रेस नेता दिपकुमार उपाध्याय, राजपाका रविन्द मिश्र, मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष उत्तम पुडासैनी, उपाध्यक्ष गोविन्द खनाल, बार एसोसियनका जिल्ला अध्यक्ष हुमबहादुर कुंवर, पत्रकार शम्भु शैनी, प्राध्यापक संघका नवराज तिवारी, पशुपतिमणि त्रिपाठी, माया ज्ञवाली, बसन्त बन्जाडे, रामदयाल ठाकुरलगायत बोलेका थिए।