वामदेव गौतमहरु मेरो सरकार ढाल्ने मान्छे हुन् : ओली

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा सरकार ढाल्नका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकास्ने काम आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमले गरेको खुलासा गरेका छन्। बिहीबार प्रज्ञाभवनमा जिफन्टद्वारा आयोजित राष्ट्रिय भेलालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘प्रतिनिधिसभामा उहाँहरुले अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ, आफ्नो लगभग लगभग दुई तिहाईको सरकार, त्यो नढाली नहुने, नतोडी नहुने, अघिल्लापल्ट मेरो नेतृत्वको सरकार ढाल्ने मान्छेहरु को को हुन् ? तपाई हामी सबैलाई थाहा छैन र ? पुष्पकमल दाहाल, उनी त अर्कै पार्टीमा थिए, तर पनि उनी हुन एकजना, तीनलाई उकासेर नढाली हुँदैन भनेर भन्ने मान्छे माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम उहाँहरु नै हो। उहाँहरुले प्रचण्डलाई ढाल्नैपर्छ यो सरकार भनेर उकासेको हो। यिनै मान्छे हुन्। फेरि अर्कोपल्ट चुनावबाट हामी आयौं। फेरि पनि काम गर्न दिएनन्। तपाईहरुले अहिले मैले नाम लिएका मान्छेहरुले सरकारको पक्षमा बोलेको कहीँ सुन्नुभयो ? कहिल्यै बोल्नुभएन।’

ट्रेड युनियनको राष्ट्रिय कार्यकर्ता भेलामा आफूपक्षीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै ओलीले अब प्रचण्ड जाने ठाउँ कतै रहेन ? भनिरहँदा कतैबाट आवाज निस्कियो जङ्खल। त्यसपछि ओलीले प्रचण्ड विगतमा पनि जङ्गलमा नबसेको र अहिले पनि नबस्ने टिप्पणी गरे।

ओलीले भने, ‘न हिजो बस्नुभएको थियो न अब बस्नुहुन्छ। हिजो जङ्गल बस्नुभएको थिएन दिल्ली, लखनऊ र नोयडामा हुनुहन्थ्यो।’ माओवादी जनयुद्धकालमा प्रचण्ड कहिल्यै जङ्गल नबसेको र आरामदायी जीवन भारतमा बिताएको बताए।

नेकपा विभाजनपछि प्रचण्डको चर्को आलोचना गर्दै आएका प्रधानमन्त्री ओलीले प्रचण्डको विगत र वर्तमान जीवनशैलीबारे कडा टिप्पणी गरेका हुन्। ओलीले कार्यक्रममा नेकपाका नेताहरुको चर्को आलोचना गरेका थिए।