यस्तो आउदैछ रोयल इन्फिल्ड हिमालयनको २०२१ मोडलको मोटरसाइकल

लोकपाटी न्यूज

काडमाडौँ। रोयल इन्फिल्डले नयाँ अफरोड मोटरसाइकल हिमालयन लन्च गरेको छ । रोयल इन्फिल्डको यो मोटरसाइकल शक्तिशाली हुनुका साथै आरामदायी भएको दाबी गरिएको छ । हिमालयनको डिजाइन रोयल इन्फिल्डकै अघिल्ला मोडल थन्डरबर्ड र कन्टिनेन्टल जीटीबाट प्रेरित छ ।

रोयल इन्फिल्ड हिमालयन अन्य केही अपडेटका साथै तीन कलर अप्सनमा उपलब्ध हुने बताइएको छ। रोयल इन्फिल्डको एक मात्र एड्भेन्चर मोडलको सो बाइक अब ग्रेनाइट ब्ल्याक, मिराज सिल्भर र पाइन ग्रीन कलरमा समेत उपलब्ध हुनेछ । त्यसैगरी अब यी वाहेक ग्राभल ग्रे, लेक ब्लु र रक रेड कलर सेडमा मात्र सो बाइक उपलब्ध हुनेछ। रोयल इन्फिल्डको सो बाइकमा अलि अग्लो विन्डस्क्रिन छ भने यो टिन्टेड समेत छ। यो नयाँ विन्डस्क्रिनले राइडरको थकानलाई कम गर्ने विश्वास गरिएको छ।

मोटरसाइकलको सिटमा अब ब्राउन सेडको प्रयोग गरिएको छ र यसमा हाई डेन्सिटी फोमको प्रयोग गरिएको छ । पछिल्लो भागमा पनि लगेजलाई अझै सहज तरिकाले राख्न मिल्ने बनाइएको छ । यद्यपि सबैभन्दा ठूलो परिवर्तन भनेको यसमा ट्रिपर नेभिगेसन सिस्टम हुनु हो । रोयल इन्फिल्डले यो प्रविधि मेटियर ३५० मोटरसाइकलमा समेत गरेको छ । हिमालयन जस्तो एड्भेन्चर मोडलको मोटरसाइकलका लागि यो एकदमै आवश्यक प्रविधि हो ।

मेकानिकल पक्षको कुरा गर्दा हिमालयनमा पहिले देखि नै भएको ४११ सीसीको इन्जिन यसमा हुनेछ, जसले २४.१ बीएचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ । रोयल इन्फिल्डले यो बाइक अहिले भारतमा मात्रै लन्च गरेको छ । अफ रोडमा एडभेन्चर बाइक मन पराउनेहरूका लागि यो बाइक हेर्दैमा आकर्षक छ । यसलाई आरामदायी बनाउन दुईवटा सस्पेन्सन प्रयोग गरिएको छ । हिमालयन बाइकको तौल १ सय ८० किलोभन्दा बढी छ । २ सय २० मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले यसलाई अफरोडका लागि उपयुक्त बनाएको छ । दुईवटै पांग्रामा डिस्क ब्रेक भएको यसको मूल्य भारतमा १ लाख ५५ हजार भारतीय रुपियाँ छ ।