सुशील काेइरालाले उद्घाटन गरेकाे सडक ओली सरकारद्वारा फेरि उद्घाटन

pm-inaugurates-bp-highway-2.jpg'_'.2021-01-28
लोकपाटी न्यूज

काठमाडाैं। १८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राजमार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन्। एकपटक उद्घाटन गरिसकिएको सडक केही स्थानमा मर्मत तथा पुनर्निर्माण गर्दैमा फेरि उद्घाटन गर्नु हास्यास्पद रहेको पूर्वाधार क्षेत्रकै जानकारहरूको भनाइ छ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री नेम्वाङले भौतिक रुपमा भव्य कार्यक्रम गरेर नै सडक पुनर्निर्माणको उद्घाटन गर्ने कार्यक्रम बनाएका थिए। तर, सडक निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने निकाय जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले कोरोना महामारीका कारण विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सामाजिक दूरी कायम नहुने अडान लिएपछि अनलाइन प्रविधिको प्रयोग गरेर उद्घाटन गर्न लागिएको हो। ‘सडक मर्मतको काम उद्घाटन गर्नुपर्ने नै थिएन तर केन्द्रीय सरकारको मन्त्रीले नै उद्घाटन गर्ने भनेपछि जाइकाजस्तो संस्थाले प्रतिष्ठाकै लागि पनि खुसीसाथ कार्यक्रम गर्दैै छ,’ मन्त्रालय स्रोतले बतायो।

जापान सरकारले ०७२ असार १२ को भूकम्पपछि नै सडक नेपाललाई हस्तान्तरण गरेको थियो। तर, कुल १ सय ६० किलोमिटर लामो बिपी राजमार्गमा भूकम्पका कारण विभिन्न ठाउँमा जोखिमयुक्त बनाएको थियो। त्यस्ता, जोखिमयुक्त २५ स्थानको पुनर्निर्माण कार्य हालै सकिएको छ। उच्च संवेदनशील रहेका पाँच ठाँउमा पुनर्निर्माणको जिम्मा लिएको जाइकाले २६ पुसमा निर्माण सम्पन्न गरेको बिपी राजमार्ग आयोजना प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए। ‘संवेदनशील र अन्य गरेर बाँकी २० ठाउँमा भने नेपाल सरकारले पुनर्निर्माण तथा मर्मत गरिसकिएको छ’ उनले भने।

उच्च संवेदनशील देखिएका पाँच ठाउँमा जाइकाले आधुनिक प्रविधि अपनाएर निर्माण गरेको र त्यसका लागि ९१ करोड येन (१ अर्ब १ करोड रुपैयाँ) खर्च गरेको छ । यी ठाउँको पुनर्निर्माणका लागि जापानी परामर्शदाता, ठेकेदार र प्रविधिको प्रयोग भएको आयोजना प्रमुख भाटले जानकारी दिए। पुनर्निर्माण गरेको ठाउँको मात्रै बिहीबार उद्घाटन गर्ने तयारी भएको उनको भनाइ छ।

त्यस्तै, संवेदनशील देखिएका २० ठाउँ र अन्य सामान्य मर्मत गर्नुपर्ने स्थानमा नेपाल आफैँले काम गरेको हो। सरकारको करिब ४० करोड रुपैयाँ खर्च भएको छ। सडकका विभिन्न ठाउँ जोखिमयुक्त हुनुमा ०७२ वैशाख १२ र त्यसपछि निरन्तर गएका भूकम्पका कम्पनलाई कारक मानिएको थियो।

बिपी राजमार्गमा पत्ता लागेका जोखिमयुक्त २५ मध्ये पाँच ठाउँ अति संवेदनशील अवस्थामा देखिएको छ। तिनमा ढुंग्रेभन्ज्याङ, मूलकोट उकालो, खहरे र माथिल्लो बाराको दुई स्थान रहेका छन्। अध्ययन टोलीले यी ठाउँमा ट्राफिक (गुड्ने सवारीसाधन)को संख्यामा नियन्त्रण गर्नुपर्ने सुझाबसमेत दिएको थियो। अवस्था नाजुक भएकाले जबर्जस्ती गर्दा सडक भत्किने र दुर्घटना हुने सम्भावना रहेकाले उक्त सुझाब दिएको थियो। यी ठाउँको निर्माण गर्न धेरै लागत आवश्यक पर्ने प्रविधिको प्रयोग (उदाहरणका लागि जिओ ग्रिड) गरिएको छ।

बिपी राजमार्गलाई आयोजना चार खण्डमा विभाजन गरिएको छ। त्यसमध्ये पहिलो खण्डमा बर्दीवासदेखि सिन्धुलीमाडीसम्मको ३७ किलोमिटर सडक पर्छ। त्यस्तै, दोस्रो खण्डमा सिन्धुलीमाडीदेखि खुर्कोटसम्मको अर्को ३७ किलोमिटर सडक पर्छ। यस खण्डमा मात्र १२ स्थानमा समस्या देखिएको थियो। त्यस्तै, तेस्रो खण्डअन्तर्गत खुर्कोटदेखि नेपालथोकसम्मको सडक पर्छ। यसको लम्बाइ ३६ किलोमिटर छ । यस खण्डमा ११ स्थानमा समस्या देखिएको थियो । त्यस्तै, चौथो खण्डमा नेपालथोकदेखि धुलिखेलसम्मको ५० किलोमिटर सडक पर्छ। यस खण्डमा तीनवटा स्थानमा समस्या देखिएको थियो। पहिलो खण्डमा भने समस्या देखिएको थिएन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्