केपी शर्मा ओली युग सकियाे : अध्यक्ष नेपाल

Madhav-Kumar-Nepal
लोकपाटी न्यूज

ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको युग सकिएको बताएका छन्। सर्वोच्च अदालतको फैसला आएपछि ओलीको नामनिसाशा नै हराउने नेपालले दाबी गरे। ‘कसैलाई नटेर्ने, सबैलाई अपमान मात्रै गर्ने, म मात्रै सर्वेसर्वा हुँ भन्ने ओली दुर्भाग्यवश प्रधानमन्त्री बन्न पुगे, पार्टी अध्यक्ष बन्न पुगे’, पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘अझै बालुवाटारमै बस्छु भनिरहेका छन्, अदालतको फैसला नआउञ्जेल बसुन्, त्यसपछि खुरुक्क बालुवाटार जान्छन्, नभए तेह्रथुमको घरमा आएर बसे पनि फरक पर्दैन।’ केपी ओलीको पछि लाग्नेले जिवनभर पछुताउनुपर्ने नेपा नेपालको भनाइ छ। पूर्वदेखि पश्चिमसम्मकै जनताले ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा रहेको उनले बताए।

पौष ५ गते बालुवाटारमा बसेको स्थायी कमिटिको बैठकले पार्टीको अध्यक्षबाट केपी ओलीलाई हटाउने निर्णय गरेको र पौष ७ गतेको केन्द्रिय कमिटिको बैठकले त्यसलाई अनुमोदन गरेकाले अब उनले अध्यक्षमा दावी गर्ने कुनै ठाउँ नभएको नेपालको भनाइ छ। ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएको बताए।

‘४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय बढी हामीसँग छन्, केपी ओली एण्ड कम्पनीसँग यो पार्टीमा दावा गर्ने कुनै पनि आधार विद्यमान छैन’, नेपालले भने, ‘अब कुनै सानो गुट चलाएर बसे हुन्छ, उनी हाम्रो पार्टीका साधारण सदस्य समेत होइनन्, अध्यक्ष त धेरै टाढाको कुरा हो।’ जहाँ पार्टी छ निर्वाचन चिन्ह त्यसैको हुने नेपालले बताए। ‘तपाईंहरु नअल्मलिनुस्, जहाँ अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष भएको नेपाल कम्युनिष्ट पार्टी छ, त्यहाँ सूर्य चिन्ह छ’, उनले भने। अधिकांश समय ओलीको आलोचनामा खर्चिएका नेपालले ओलीलाई सानो चोइटो र भष्मासुरको संज्ञा दिए।