प्रचण्ड-नेपालसँग एकता गर्न तयार छौंः पोखरेल

Ishwor_Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बतााएका छन्। २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए।

‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्‍याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ। कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ। र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ। त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ।’

पोखरेलले पार्टीमा भएको फेरबदलका विषयमा निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक भएको पनि बताए। ‘निर्वाचन आयोगले गरेको निर्णयलाई सम्मान गर्छौं। सकारात्मक लिन्छौं। हामी पार्टी फुटको पक्षमा रहेनौं। हामीले कसैलाई पनि कारबाही गरेनौं। आयोगको निर्णयले चाहेर पनि नेकपा फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ,’ उनले भने।