काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ। सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बागमती प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा ओली समूहले जनसभाका लागि १ हजार १ सय ११ सदस्यीय समिति बनाएको जानकारी दिएको छ।
ताजा जनादेशका लागि संदेश दिन जनसभाको आयोजना गर्न लागिएको ओली समूहले जनाएको छ। उक्त समूहका नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनसभा परिचालन कमिटी गठन गरिएको छ। जनसभा बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार बागमती प्रदेश अन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्लासमेत १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा कार्यकता परिचालन गरिने छ।
जनसभा परिचालन कार्यक्रमको सचिवालय बागमती प्रदेश संगठन कमिटीको कार्यालय बालकुमारी ललितपुरमा रहने उनले जानकारी दिए। पोखरेलकै अध्यक्षतामा २५ सदस्यीय सचिवालय गठन गरिएको छ। २३ माघको जनसभा सम्पन्न गर्न आवश्यक सबै व्यवस्थापन सचिवालयको कार्यालयले गर्ने जारी विज्ञप्तीमा उल्लेख छ।
जनसभामा स्वास्थ्य स्वयमसेवकका साथै विशेष घुम्ती स्वास्थ्य टोली र औषधिको समेत व्यवस्था गरिने भएको छ। ११ बजेदेखि मञ्चमा जनसभा सुरु हुनुपुर्व विभिन्न सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ। त्यस्तै, कमिटीले प्रचण्ड-माधव नेपाल पक्षले अराजनीतिक क्रियाकलाप गरेको ठहर गरेको छ।
त्यस्तै, प्रदेश कमिटीले २१ गते १० हजार मोटरसाइकल र्याली निकाल्ने निर्णय गरेको छ। र्याली तथा जनसभा गर्दा फोहोर फाल्न नपाइने बताइएको छ। फोहोर स्वयंसेवकले सफा गर्ने समेत बताइएको छ। यो जनसभा प्रचण्ड-नेपालको काउन्टरमा नभएको समेत कमिटीले स्पष्ट पारेको छ।



लोकपाटी न्यूज

