काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जसलाई आड भरोसा दिने कोही छैन उनीहरूका लागि सरकार रहेको बताएका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली फरक क्षमता भएका व्यक्तिहरूलाई सरकारले सहयोग गर्ने बताए।
‘आज अपांगता हुने, जीविका कठिन हुने, अभिभावक नहुनेहरूको सन्दर्भमा म तपाईंहरूलाई ढुक्कसँग भन्न चाहन्छु, तपाईंहरूको साथमा सरकार छ,’ उनले भने। जनताका समस्या के छन्, ती समस्या पहिचान गर्नु र त्यसको समाधान दिनु सरकारको कर्तव्य भएको उनले बताए। अहिले समाजमा सबैभन्दा बढी समस्या शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूले भोग्नु परेको उनले औंल्याए।
ओलीले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भन्नेहरु संविधान विरोधी भएको आरोप लगाए। देशमा स्थिरता हुन नदिएर अस्तव्यस्तता खडा गर्नेहरुका कारण संसद विघटन गर्नुपरेको उनको भनाइ छ। ‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्। ती कराउनेहरु संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी मान्छेहरु हुन्,’ उनले भने।
संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेहरुले नयाँ जनादेशमा जाने निर्णयको विरोध गरेको ओलीले बताए। उनले भने, ‘संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागिर हो ? जागिर होइन। उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्नेछ।’ ओलीले आफू तानाशाही नभएको बताए। उनले जनतालाई तपाईंहरूले फैसला गर्नुहोस् भन्दा म कसरी तानाशाही भएँ ? भने प्रश्न गरेका थिए।
‘मैले शासन आफ्नो हातमा लिएको भए तानाशाही हुन्थ्येँ। जनतालाई तपाईंहरू फैसला गर्नुहोस् भन्दा म तानाशाही भएँ ? मैले त फैसाला गरेको छैन। मै शासक बन्छु, मै रहन्छु, जोडघटाउ, जालझेल, किनबेच गरेर मै शासनमा रहन्छु भनेको छैन। मैले त जनताका बीचमा जाऊँ, मेरा काम के भए त्यो पनि जनताले मूल्याकंन गर्नुहोस् अरूका काम के भए त्यो पनि मूल्यांकन गर्नुहोस् भनेको छु’ उनले भने।



लोकपाटी न्यूज

