‘अरु नेताले छोराछोरी विदेश पठाउँदा प्रचण्डले युद्धमा होमेका थिए’

Prachanda_1
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति एकदमै विक्षिप्त भएका छन्। संसद् विघटन गरेयता ओलीले गरेको भाषणमा कुनै पनि राजनीतिक गन्ध भेटिँदैन। उनका भाषणमा गालीबाहेक केही भेटिँदैन। धेरै जसो सार्वजनिक मञ्चमा उनले प्रचण्ड, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठमाथि आगो ओकल्ने गरेका छन्। अन्धसमर्थक पाएपछि हौसिने ओलीका पछिल्ला अभिव्यक्ति अराजनीतिक सुनिन थालेका छन्।

प्रधानमन्त्रीको हैसियतबाट व्यक्त हुने विचारले देशकै शिर निहुरिएको भन्दै आलोचना हुने गरेको छ। अनेरास्ववियुको कार्यक्रममा ओलीले प्रचण्ड-माधवलाई लक्षित गर्दै भनेका थिए, ‘बरु तपाईहरु मरेको भए श्रद्धाञ्जली दिन हुन्थ्यो, के भनेर सम्झिने।’ सुदूरपश्चिमको भेलामा पुगेका ओलीले नेकपाका नेता भीम रावलको पनि अपमान गरे। सोही कार्यक्रममा ओलीले प्रचण्ड र उनको परिवारको योगदानमाथि छुद्र टिप्पणी समेत गरे।

प्रचण्डले पछिल्लो पटक एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामार्फत उक्त छुद्र टिप्पणीको खण्डन गरेका छन्। परिवारका लागि राजनीति गरेको आरोपमा प्रचण्डले प्रधानमन्त्री ओली निसन्तान हुनुमा आफ्नो कुनै दोष नभएको तर्क गरेका छन्। ‘एउटा निरंकुश तानाशाहले जे पनि आरोप लगाउँछन् नै। त्यसमा धेरै भनिरहन आवश्यक देख्दिनँ। अब म निसन्तान भइनँ त मेरो दोष हो र ? केपी जी निसन्तान हुनुभो। उहाँले अब छोराछोरी भन्न परेन,’ प्रचण्डले भनेका थिए, ‘म निसन्तान भइनँ। मेरा छोराछोरी भए नातिनातिना छन्। ज्वाइँ छन्। त्यो मेरो दोष हो र ?’

प्रचण्डले आफू युद्धमा लडेर छोराछोरीलाई विदेशमा पढाउन नपठाएको जिकिर गरे। उनले आफ्ना छोराछोरी पनि युद्धमै होमिएर कीर्तिमानी कायम गरेपछि जनताले रुचाएको दाबी गरे। ‘मेरो छोराछोरी भएकै हुनाले नै चाहिँ सुविधा लिया छन् त कहीँ। हिजो विद्रोह र युद्धमा मर्न हिँडेका मान्छे हैनन् यिनीहरू। मेरो छोरी भन्नुस् चाहे बुहारीहरू भन्नुस्। यी सबै लडाइमा थिए नि त। जेलनेल यातना भोगेर आएका होइनन् ?’ प्रचण्डले भनेका छन्, ‘आफू चाहिँ विद्रोह र युद्धमा छोराछोरीलाई चाहिँ विदेशमा पढ्न त पठाएन नि मैले। उनीहरूलाई पनि लडाईमा होमिनपर्छ भने। यो मेरो दोष हो। क्रान्ति कायम राखे कोही भैरवनाथ गणमा तीन वर्ष लापत्ता भए। कोही रोल्पा रुकुमको पाखा पखेरामा दौडिएर हिँडे। उनीहरू चुनावमा जिते। त्यस्तो पनि भन्न मिल्छ ? त्यसमा मेरो के दोष ?’

२५० वर्ष लामो सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्न नेपाली राजनीतिमा प्रचण्डको सबैभन्दा ठुलो योगदान छ। प्रचण्ड मात्र होइन, नेकपा शीर्ष नेताको सहकार्य बिना नेपालमा यति ठुलो परिवर्तन हुन सम्भव नै थिएन। नेता, कार्यकर्ता र आम जनताको बलियो एकता र साथकै कारण ‘ओलीले बयलगाडा चढेर अमेरिका पुगिन्नँ’ भन्ने गरेको गणतन्त्र नेपालमा आइछोड्यो। त्यसको मुख्य श्रेय प्रचण्ड, माओवादी र संसदवादी दलका नेता-कार्यकर्ता, न्याय र लोकतन्त्रका पक्षधर आम जनतालाई जान्छ।

नेपाली राजनीतिमा प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसले आफ्नो सिङ्गो परिवारलाई युद्धमा होमेका थिए। जति बेला माओवादी युद्धमा थियो, त्यति बेला आफ्नो परिवारलाई राजनीतिकरण गर्नु, परिवारलाई पेशेवर कार्यकर्ता बनाउनु क्रान्तिकारी कदम मानिन्थ्यो। माओवादीकै वरिष्ठ नेताहरूका छोराछोरी विदेशमा पढाइरहँदा प्रचण्ड भने आफ्नी छोरा छोरीलाई युद्धमा होमेका थिए। उनीहरू मात्र होइन, प्रचण्ड पत्नी सीता दाहालले पनि जनयुद्धको सिङ्गो प्रक्रियामा अमूल्य योगदान गरेकी छिन्। यता बुहारी बिना मगर जनयुद्धकै क्रममा भैरवनाथ गणमा २७ महिना लामो कष्टकर यातना भोगेकी नेतृ हुन्। जनयुद्धमा सहभागी सबैको समुचित व्यवस्था भइसकेको छैन, यो कुरा मान्न सकिन्छ। तर, रेनु दाहाल र बिना मगरहरू बिना योगदान राजनीतिको यो उचाइमा पुगेका होइनन्।

जनयुद्धका कष्टकर दिनमा सम्पूर्ण जीवन क्रान्तिमा होम्दा उनीहरू कमरेड हुने तर अहिले शान्तिपूर्ण क्रान्तिको चरणमा उनीहरू छोरी हुने, बुहारी हुने, भाइ हुने ? यो संकीर्ण र पाखण्ड सोच हो। जसले सिङ्गो जिन्दगी राजनीतिक परिवर्तनका लागि खर्चिए, उनीहरू जनताबाट निर्वाचित भएर आउँदा टाउको दुखाउनुपर्ने कारण के ? ओली कमरेड, हेक्का राख्नुस्, नेपालको राजनीतिक परिवर्तनमा रेणु र बिनाको योगदान तपाईंको भन्दा बढी छ। किनकि तपाई राजतन्त्रको समर्थक हो, गणतन्त्रको विरोधी हो, सङ्घीयता र समावेशी लोकतन्त्रको विरोधी हो। तर, उनीहरू गणतन्त्रका योद्धा हुन्। सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पण गरेका क्रान्तिकारीहरू हुन्। उनीहरूसँग तपाईँको तुलना हुँदैन।

ओली कमरेड, तपाई आज गणतन्त्रको घाँटी निमोठ्दै हुनुहुन्छ। संघीयता अनावश्यक भन्दै हुनुहुन्छ। जनयुद्धलाई कुहिएको फर्सी भन्दै हुनुहुन्छ। संविधानको गला रेट्दै हुनुहुन्छ। तर, हेक्का राख्नुस्, प्रचण्ड, रेनु र बिनाहरूले नलडेको भए कि तपाई ज्ञानेन्द्रको जेलमा हुनुहुन्थ्यो कि दरबार पसेर राजाको भक्त भइसक्नुहुन्थ्यो। गुमनाम केपी ओलीलाई प्रधानमन्त्री बनाउने तिनै योद्धाहरूको अपमान गर्ने नैतिक अधिकार तपाईंसँग छैन।