ओलीको कदमले समाजवादी बाटोमा गतिरोध आयोः भट्टराई

yogesh_Bhattarai
लोकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान मन नपरेको बताएका छन्। शनिबार मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको ‘संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई संविधान मन नपरेको र त्यसमा संशोधनका लागि दुईतिहाइ मत मागेको बताएका हुन्।

‘संविधान संशोधनका लागि उहाँले प्रतिनिधिसभा विघटन गरेर दुईतिहाइ मत माग्नुभएको छ’, उनले भने, ‘उहाँले भन्नुभएको छैन, किन दुईतिहाइ चाहियो ? कुन मुद्दामा संविधान संशोधन गर्ने भनेर। आज संविधानमा भएका मुद्दाहरु उहाँलाई संविधान बनाउने क्रममै मन परेको थिएन, उहाँ ती मुद्दालाई हटाउन चाहनुहुन्छ।’ उनले ती मुद्दाबारे सबै जानकार रहेको बताए।

भट्टराईले अहिलेको लडाइ संविधानको रक्षाका लागि भएको पनि स्पष्ट पारे। उनले भने, ‘संविधान के हो ? किन धेरै लगाब छ ? यस अघि पनि संविधान थिए। ती संविधान धेरै नराम्रा पनि थिएनन्। तर यो संविधानमा धेरै लगाब किन छ भने यसका निर्माता हामी हौं। यस संविधानमा कम्युनिष्ट घोषणा पत्रका अधिकांस विषय समेटिएका छन्। यो हामीले जन्माएको संविधान हो।’

उनले अहिले प्रधानमन्त्रीले बोकेका मुद्दा प्रतिगामी र दरबारीयाहरुले बोक्ने मुद्दा भएको उनको आरोप थियो। उनले अहिले नेकपामा भएको विवाद ओली-प्रचण्ड व्यक्तिमा केन्द्रित नभइ प्रवृत्तिमा केन्द्रित रहेको बताए। उनले अब ओली र प्रचण्डले हात मिलाउँदैमा यो विवाद नसकिने दावी गरे। ‘अहिलेको विवादलाई प्रचण्ड र केपी ओलीबीचको लडाईंका रुपमा बुझ्न थालियो भने एकदमै साँघुरो हुन्छ,’ उनले भने, ‘भोलि उहाँहरुले यत्तिकै हात मिलाइदिनु भयो भने सिधिन्छ त यो मुद्दा ?’  कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराई अगाडि भनेका छन्ः

नेपाली समाज बदलिएको छ। नेपाली समाजको उत्पादन सम्बन्ध बदलिएको छ। नेपाली समाजका अन्तर्विरोधहरू बदलिएका छन्। हिजो कुनै बेला सामत्नवादीसँग हामी प्रमुख दुस्मनी र प्रमुख अन्रविरोधमा थियौँ। अब नेपाली समाजको प्रमुख विशेषता सामन्तवादी होइन। यो पूँजिवादी समाज हो। यो प्रतिक्रियावादी पूँजिवादी समाज हो। नेपाली समाज दलाल पूँजिवादी चरणमा छ। अब हाम्रो प्रमुख अन्तर्विरोध दालाल पुजिवादसँग हो।

यो दलाल पूँजिवादीलाई अन्त्य गर्न र राजनीतिक उपलब्धिहरूलाई संरक्षण र सुदृढ गर्दै, सामाजिक आर्थिक रूपान्तरण गर्दै हामी समाजवादी बाटोमा जान्छौँ। पार्टी एकताको बेला हामीले भनेको जनताको जनवाद त्यही नै हो। यो समाजवाद उन्मुख जनताको जनवाद हो। त्यसको गर्भमा २१ औँ शताब्दीको जनवाद छ, बहुदलीय जनवाद छ, पुष्पलालले भनेको नयाँ जनवाद छ। समाजवादभन्दा पूर्वी चरणमा कम्युनिस्टहरुले नाम दिएका अनेक जनवाद जनताको जनवादको गर्भमा छन्। जनताको जनवादमा ती सबै समावेश भएका छन्।

आज कसैले बहुदलीय जनवाद छोड्नु परेको पनि छैन। २१ औँ शताब्दी शताब्दीको जनवाद छोड्नु परेको पनि छैन। त्यसलाई एक चरणमाथि विकाश गरेर जनताको जनवाद भनेका हौँ। त्यो प्रगतिशील छ। यसको संविधानसँग गहिरो नाता छ। संविधानको प्रस्तावनामा हाम्रो पार्टीको निष्कर्षको एक लाइन त्यहाँ छ। अब नेपाली समाज समाजवाद उन्मुख दिशामा अगाडि बढ्छ। सायद दुनियाँका कयौँ संविधानमा राजनीतिक लक्ष्य निर्धारण गरिएको हुन्छ।

नेपाली समाज समाजवाद उन्मुख हो भनिसकेपछि हामी सबै यो संविधान मान्ने राजनीतिक शक्तिहरूको लक्ष्य समाजवाद हो। त्यसमा जाने बाटो, तरिका अलग होला, वर्ग दृष्टिकोणहरू अलग होलान्। तर समाजवादजानेबाटोको बारेमा संविधानमै उल्लेख हुनु संविधानको क्रान्तिकारी पक्ष हो। प्रगतिशील पक्ष हो। आज संविधानमाथि प्रहार भएको छ। समाजवादी बाटोमा गतिरोध सिर्जना गरिन लागिएको छ। आजको मुख्य लडाइ समाजवादी लडाइ हो। समाजवादी संविधानको रक्षाको लडाइ हो।