जनमुक्ति सेनालाई ओलीले संरक्षण गर्छन् भनेर कसले पत्याउला : प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाण्डौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिलाई अघि बढाउने भुल नगर्ने बताएका छन् । शुक्रबार आफ्नो समूहको केन्द्रीय सङ्घर्ष समितिले प्रतिनिधि सभा विघटनको विरोधमा काठमाण्डौमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा केपी ओली प्रवृत्तिविरुद्ध भित्रभित्रै सङ्घर्ष गर्ने र त्यस्तो प्रवृत्तिलाई अघि बढाउने भुल नगर्ने बताएका हुन।
उनले भने, ‘म तपाईँ जनसमुदायलाई साक्षी राखेर के प्रतिज्ञा गर्न चाहन्छु भने अब हामी त्यस्तो केपी प्रवृत्तिप्रति उदार भएर भित्रभित्र सङ्घर्ष गर्ने अनि उनको प्रवृत्तिलाई अगाडि बढाउन त्यस्तो खालको भुल अब हामी गर्ने छैनौँ । म प्रतिबद्धता र सङ्कल्प गर्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते र अपाङ्गलाई उपचार गराउन सरकारलाई आग्रह गरेको भए पनि नमानेको र अहिले आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले प्रचण्डले केही नगरको भनि आरोपित गरेको बताए। उनले भने, ‘सरकारलाई मैले पटक–पटक यी घाइते अपाङ्गको उपचार हुनुपर्‍यो भन्दै आग्रह गरे तर पहिले खाइपाइ आएको मासिक भत्ता पनि खोसिदिएछ यो सरकारले त।

गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने रहेछ । मैले धरैचोटि भन्दा कहीँ कतै टेरपुच्छर लाइएन, उल्टो मासिक भत्ता खोसियो । घाइतेको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो । पार्टी विभाजन र आफू अल्पमतमा परेपछि म सुन्छु घाइते अपाङ्गलाई हेर्नुपर्दैन भन्ने यही केपी । फट्याइँ गर्न पनि कति सकेको? जालझेल गर्न नि कस्तो दिमाग हो?’

अध्यक्ष प्रचण्डले कालीबहादुर खामको मुद्दा ठिक ढङ्गले हल गर्न लगातार लागिरहेको बताए। उनले भने, ‘कालीबहादुर खाम खोइ अरे? त्यो कालीबहादुर खाम बिचरा आफैले केही गरेको त होइन। उसको मुद्दा ठिक ढङ्गले हल होस् भन्नका लागि दशएघार वर्षदेखि लगातार लागेको छु।

उसलाई परेको साह्रोगाह्रो हेर्न मैले लगातार बल गरेको छु। अहिले त कालीबहादुर खाम तपाईँलाई प्रचण्डले हेर्दैन, जनमुक्ति सेनाको कमाण्डरलाई जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पुर्‍याएँ, ती मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे। आमाको दुध चुसेर भएन बाको घुँडो। जनमुक्ति सेनाका सबै कमाण्डर, योद्धा, घाइते साथीहरू भ्रमित नहुनुहोला।’

अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको रगत, पसिना र बलिदानीले नेपालमा गणतन्त्र स्थापना भएको कुरा इतिहासमा स्वर्णिम अक्षरमा लेखिइसकेकोले इतिहासलाई कालो पोत्ने काम नगर्न जनमुक्ति सेनालाई अपिल पनि गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्