पूर्वराजा ज्ञानेन्द्रभन्दा ओली बढी तानाशाह छन्: कृष्ण पहाडी

krishna-pahadi
लोकपाटी न्यूज

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको दबाबले नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै व्यक्तिगत सनकका कारण असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेको मानवअधिकारकर्मी कृष्ण पहाडीले बताएका छन्। मानव अधिकार तथा शान्ति समाजले मंगलबार सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले व्यक्तिगत सनकका कारण खड्ग प्रदर्शन गरेको बताएका हुन्।

खड्गको अर्थ फलामबाट बनेको एक किसिमको घातक हतियार, सोझो किसिमको तवार भन्ने बुझिन्छ । त्यही खड्ग प्रधानमन्त्री ओलीले पदर्शन गरेको उनको आरोप छ। ‘प्रधानमन्त्री ओली राष्ट्रिय जोकर मात्र बनेनन्,’ उनले भने, ‘उनी जहाँ टेक्छन् त्यहाँ आगो लगाए।’ पार्टी, प्रतिनिधिसभा विघटन र संविधान उल्लंघन गरेको विषयलाई आगोको संज्ञा दिँदै उनले भने, ‘प्रधानमन्त्री ओली सत्तामा आउनासाथ सम्पूर्ण शक्ति आफूप्रति केन्द्रीय गरे।’

संसद् विघटन हुँदा पूर्व संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङसमेत बिकेको आरोप लगाए। यस्तो अवस्थामा अदालतले तेल र पानी छुट्याउनु पर्ने उनको धारणा छ । दलीय व्यवस्थालाई लत्याउँदै ओली निर्दलीय व्यवस्थातिर लागेको उनको आरोप छ । साथै उनले शाही शासनका बेलाभन्दा नागरिक केपी शर्मा ओलीको शासनकालमा बढी हिरासत जीवन बिताएको बताए। ‘शान्तिपूर्ण ढंगले नागरिक सरोकारका विषयमा प्रदर्शनमा बसेका मानवअधिकारकर्मी, पत्रकार, आमनागरिकलगायतले पूर्व राजा ज्ञानेन्द्र शाहको शासनभन्दा बढी पटक हिरासतमा बस्नु प¥यो,’ उनी प्रश्न गर्दै भन्छन्, ‘यो लोकतन्त्र होकी ओली तन्त्र ?’

विश्वभरि फैलिएको कोरोना महामारीको समयमा नागरिकलाई सुरक्षित राख्न छाडेर आफू शक्ति सञ्चय गर्न लागेको बताए। त्यस्तै कवि अर्जुन पहाडीले संसद् विघटन गर्नुलाई बिरामीलाई एम्बुलेन्समा नभइ शववहानमा लिइएको प्रसंगामा जोडे। ‘बिरामीलाई एम्बुलेन्समा लिइयो भने अस्पताल पु¥याइन्छ,’ उनले कवितामार्फत भने, ‘शववहानमा चढाएर लिइयो भने आर्यघाटन पु¥याइन्छन्। जहाँ बिरामीको उपचार नभइ अन्तिम दाहसंस्कार गरिन्छ।’ प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानलाई आर्यघाटनमा पु¥याएको बताए। यस्तो अवस्थामा संविधानको रक्षाका लागि सबै नागरिक एकजुट हुनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्