बुटवल। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको कदम संविधान बाहिरको भएको बताएका छन्। संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने उल्लेख गर्दै उनले संसद बिघटनको प्रस्तावलाई प्रधानमन्त्री ओलीको ‘सनकीपन’को संज्ञा दिए।
बुटवल आयोजित विरोधसभामा थापाले संविधानको रक्षा र प्रधानमन्त्रीको कदमलाई ठिक ठाउँमा ल्याउनका लागि नेपाली कांग्रेसले सडक आन्दोलन गरिरहेको बताए। ‘कमजोर प्रधानमन्त्रीले मात्रै संसद बिघटनको प्रस्ताव गर्नसक्छ,’ उनले भने ‘पार्टीको आन्तरिक झगडाको कारण कसैले संविधानको हत्या गर्न पाउँदैन।’
उनले संविधानमै नभएको व्यवस्था अनुसार संसद विघटन गरेकै कारण पूर्वप्रधानन्यायाधीश समेत एक ठाउँमा उभिएर सरकारको ध्यानाकर्षण गराएको जिकीर गरेका छन्। ‘संविधानमा कहीँकतै बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भन्ने उल्लेख छैन। त्यसैले पनि पूर्वप्रधानन्याधीशहरू एक ठाउँमा उभिएर बोले,’ थापाले भने, ‘यसबाट पनि प्रष्ट हुन्छ कि, ओलीको कदम असंवैधानिक मात्र होइन अनाधिकृत पनि हो।’
संविधान लेख्दा नशामा लठ्ठ परेर नलेखेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु असंवैधानिक भएको बताए। ‘संविधान पल्टाएर, बुझेर र जानेरै संविधानको धारा ७६ लेखेको हो। नशामा लठ्ठ परेर होइन,’ उनले भने। देशमा कोरोना महामारीले संकट आइरहेको बेलामा संसद विघटन गरेर चुनाब गर्छु भन्नु प्रधानमन्त्रीको अर्को अराजनैतिक कदम भएको थापाको भनाइ थियो।
कोरोना महामारीको बेला खोप केन्द्र बनाई जनतालाई राहत दिनेबेला मतदान केन्द्र बनाएर आहत दिएको थापाले बताए। प्रधानमन्त्रीको असंबैधानिक कदमको अदातलते सच्याउनुपर्ने उनले बताए। ‘श्रीमानहरूले सडकबाट प्रभावित हुँदैनौ भनेर भनिरहनुभएको छ भन्ने सुनेको छु,’ थापाले भने, ‘कोठाभित्र हुने खासखुस पनि श्रीमानले नसुन्नुहोला।’



लोकपाटी न्यूज

