ओली आफ्नै निर्वाचन क्षेत्रमा असुरक्षित

KP sharma Oli-22
लोकपाटी न्यूज

काठमाडौं। कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन्। चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन्। प्रचण्ड-माधव पक्षका नेताहरुमा चुनाव जित्ने आँट नभएको ओलीको आरोप छ।

बैशाखमा मध्यावधि निर्वाचन हुन्छ वा हुँदैन ? यो विषय सर्वोच्च अदालतले संसद पुनस्थापना गर्छ/गर्दैन भन्ने प्रश्नसँग गाँसिएको छ। अदालतले निर्वाचनको बाटो खोलिदियो भने पनि ओलीले बैशाखमै चुनाव गराउन सक्छन् कि सक्दैनन् भन्ने अर्को प्रश्न बाँकी नै रहनेछ। तर, ओलीले चुनाव गराइहाले भने पनि त्यो उनका लागि ‘हार्ने चुनाव’ बन्न सक्छ। किनभने, झापामा स्वयं ओलीकै जीत सुनिश्चित छैन।

उनको क्याबिनेटमा रहेका अधिकांश बहालवाला मन्त्रीहरुको पनि जित निश्चित छैन। सरकारमा नरहेका अरु नेताहरुको त कुरै नगरौं। नेकपा फुटेको अहिलेकै अवस्थामा चुनाव भइहाल्यो भने ओलीको क्याबिनेटमा रहेका २४ जना मन्त्रीमध्ये अधिकांशको पत्तासाफ हुने सम्भावना देखिएको छ। स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो चुनाव क्षेत्र झापा ५ मा असुरक्षित देखिन्छन्।

झापा क्षेत्र नम्बर ५ को गणित

केपी ओलीले ०७४ सालको आम निर्वाचनमा झापाको क्षेत्र नम्बर ५ बाट चुनाव जितेका हुन्। यो क्षेत्रमा नेकपा र कांग्रेस मात्र होइन, राप्रपाको समेत बलियो उपस्थिति छ। राजनीतिका चतुर खेलाडी मानिने ओलीले ०७४ को चुनाबमा माओवादीको मतले मात्र जित्ने विश्वास नभएपछि राप्रपासँग पनि तालमेल गरेर अत्यधीक बहुमत प्राप्त गरेका थिए। गत चुनावसम्म आम जनतामा ओलीप्रति आकर्षण र विश्वास रहेका कारण उनले व्यक्तिगत एवं गैरदलीय मतसमेत प्राप्त गरेका थिए। तर, अहिले उनको दल मात्रै फुटेको छैन, लोकप्रियतासमेत टुटेको स्थिति छ।

गत चुनावमा ओलीले पाएको मतमध्ये तत्कालीन एमालेको वास्तविक मत कति थियो भनेर बुझ्न स्थानीय चुनावको मत परिणाम हेर्नुपर्ने हुन्छ। ओलीको चुनाव क्षेत्रमा चार स्थानीय तह छन्-दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका। यी चार स्थानीय तहमध्ये गौरादह नगरपालिकामा कांग्रेसले मेयर पद जितेको थियो भने गौरीगञ्जमा राप्रपाले जितेको थियो।

गौरीगञ्जमा त एमालेको मत माओवादीको भन्दा पनि थोरै, चौथो स्थानमा थियो। दमक नगरपालिकामा चाहिँ एमालेले मेयरसहितका प्रायः सबै पदहरु जितेको थियो। अर्को स्थानीय तह कमल गाउँपालिकामा भने कांग्रेस र एमालेको मत बराबरी हुँदा गोलाप्रथाबाट एमालेले जित हात पारेको थियो।

यसरी ओलीको चुनाव क्षेत्रभित्र पर्ने चार स्थानीय तहको गणितलाई हेर्दा एमाले एक्लै निर्वाचन लडेको अवस्थामा ओलीलाई जोखिम हुने देखिन्छ। अझ, अहिले त पूर्व एमाले समूहमा समेत विभाजन आएको अवस्था छ। हुन त मदन भण्डारीको जस्तो हिम्मत भएको भए केपी ओलीले काठमाडौंबाटै चुनाव लड्ने आँट गर्नुपर्ने हो। कमसेकम आफ्नो घर रहेको भक्तपुरबाट चुनाव लड्नुपर्ने हो। तर, उनले झापा क्षेत्र नम्बर ५ लाई नै सुरक्षित ठानेको देखिन्छ।

गत चुनावमा ओलीले झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार मत पाएका थिए। दोस्रो बनेका कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार मात्रै मत पाएका थिए। तर, ओलीले पाएको यो मतमा माओवादीको मात्र नभई राप्रपाको समेत मत खप्टिएको थियो। आफ्नो जितलाई सुनिश्चित गर्न ओलीले क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङदेनलाई सघाएका थिए भने राप्रपाको उल्लेख्य मत रहेको आफ्नो क्षेत्रमा राप्रपाको समर्थन जुटाएका थिए।

गौरादह नगरपालिका र कमल गाउँपालिकामा गत स्थानीय चुनावमा कांग्रेसले तत्कालीन एमालेले उसै पनि टक्कर दिइसकेको अवस्था छ। गौरीगञ्जमा एमाले निकै नै कमजोर अवस्थामा छ। यो अवस्थामा केपी ओलीले चुनाव जित्छन् भनेर ढुक्क बन्न नसकिने झापालीहरु बताउँछन्। केपी ओलीले गत चुनावमा पाएको ५७ हजार मतलाई हेरेर आफूले चुनाव जित्ने निश्चित भएको दाबी गरेका हुन सक्छन्।

तर, देशमा आउने माहौल हेरेर मतदाताहरु भावनामा बग्ने नेपालजस्तो मुलुकमा पुरानो गणितका आधारमा गरिने हिसाब-किताब फेल खाने गरेको छ। जस्तो कि-२०५६ को आम निर्वाचनमा मोरङमा तत्कालीन एमाले नेता भरतमोहन अधिकारीले दसौं हजारको फराककिलो मतान्तरले जितेका थिए, ०६४ को चुनावमा उनले चुनाव हारे। स्वयं केपी ओलीले पनि ०५६ को चुनावमा कांग्रेसलाई फराकिलो मतान्तरले हराएका थिए। तर, ०६४ को चुनावमा उनी माओवादीका सामान्य उम्मेद्वारसँग हारे।

त्यस्तै वामदेव गौतमले बर्दियामा एमाले र माओवादीको ०७० सालको मत जोडेर कांग्रेसको भन्दा २८ हजार बढी हुने हिसाब निकालेका थिए, तर कांग्रेससँग ७ सयको मतान्तरले पराजय व्यहोर्नुपर्‍यो। यी सबै दृष्टान्तले के भन्छन् भने केपी ओली ०७४ सालको मतान्तर फराकिलो छ भन्दैमा पार्टी फुटेको अवस्थामा जीत सुनिश्चित छ भनिहाल्न सकिँदैन। –अनलाइनखबरबाट