नेकपाको शक्ति प्रदर्शनको तयारी पूरा, कुन-कुन ठाउँबाट निस्किँदै छन् जुलुस ?

Prachanda_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाको प्रचण्ड-माधव पक्षले शुक्रबार सरकारविरुद्ध काठमाडौंमा हुने वृहत शक्ति प्रदर्शनको तयारी पूरा भएको जनाएको छ। नारायणकाजी श्रेष्ठ नेतृत्वको केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर प्रदर्शनको तयारीबारे जानकारी दिएको छ।

समितिले प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई संख्या तोकेरै सहभागी जुटाउन निर्देशन दिएको छ। शनिबार बसेको केन्द्रीय संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध उपत्यकाको विभिन्‍न स्थानमा जुलुशसहित दिउँसो १२ बजे रत्‍नपार्कमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।

काठमाडौंमा विभिन्न ९ ठाउँबाट जुलुस निस्कने र प्रत्येक जुलुसको नेतृत्व स्थायी कमिटीका नेताले गर्ने भएका छन्। भट्टराईका अनुसार ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन्।

ती ठाउँहरुबाट सुरु हुने जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनले बताए। त्यसपछि सो सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन्। भट्टराईका अनुसार जुलुस र विरोध कार्यक्रमका लागि २ हजार स्वयंसेवक परिचालित गरिनेछ। प्रदर्शन शान्तिपूर्ण र मर्यादित हुने नेकपाले बताएको छ।

तर आन्दोलनमा सरकारी पक्षबाट घुसपैठ गरेर विथोल्ने र हिंसात्मक बनाउने षड्यन्त्रप्रति सचेत हुनुपर्ने बताएको छ । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी प्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छ। आन्दोलनका थप कार्यक्रम पनि भोलिकै विरोध सभामा घोषणा गरिने बताइएको छ।

‘यो आन्दोलन नेकपाको मात्र नभई संघीय गणतन्त्रको पक्षमा रहेका सबैको भएको हुँदा सबै जनसमुदायको सहभागिताका लागि आह्वान गर्दछौं,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय संघर्ष समितिका तर्फबाट संयोजक नारायणकाजी श्रेष्ठद्वारा जारी गरेको आह्वानमा भनिएको छ।