सुवास नेम्वाङको गलत सल्लाहले मनमोहन पनि फस्नुभएको थियो : विष्णु रिजाल

Bishnu_Rijal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले ओली समूहका नेता सुवास नेम्वाङको व्याख्या र अनुमानहरू प्राय गलत साबित हुने गरेको बताएका छन्। रिजालले मनमोहन अधिकारीलाई प्रतिनिधिसभा विघटनको सल्लाह दिने व्यक्ति पनि नेम्वाङ रहेको दाबी गरेका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘२०५२ मा प्रम मनमोहन अधिकारीलाई प्रतिनिधिसभा विघटनको सल्लाह दिने र अदालतबाट पक्षमा निर्णय आउँछ भन्ने व्यक्ति सुवास नेम्वाङ नै हुनुहुन्थ्यो। ०५२ भदौ १२ गते फैसला सुन्न एक ठाउँमा बसिरहेका नेताहरूले लवज सुन्दा ‘पक्षमा फैसला हुन्न कि क्या हो ?’ भन्दा ‘होइन, विश्वनाथ उपाध्यायको बानी नै सुरुमा नकारात्मक चर्चा गरेर अन्तिममा सकारात्मक फैसला गर्नेछ’ भनेको नेताहरूले बिर्सेका छैनन्।’

रिजालले समाजिक सञ्जालमा लेखेका छन्ः

सञ्चार माध्यमहरूमा प्रतिनिधिसभा विघटनसँग जोडेर पूर्व सभामुख सुवास नेम्वाङका बारेमा लेखिएको पाइन्छ। पहिले प्रतिनिधिसभा विघटन हुँदैन भन्ने उहाँले अहिले प्रधानमन्त्रीले विघटन गरेकाले वैशाखमा चुनाव हुन्छ भनिरहनुभएको छ। विगत हेर्दा चाहिँ उहाँका व्याख्या र अनुमानहरू पूर्णतः गलत साबित भएको र त्यसबाट पार्टीलाई क्षति भएको दृष्टान्त पाइन्छ।

१. २०५२ मा प्रम मनमोहन अधिकारीलाई प्रतिनिधिसभा विघटनको सल्लाह दिने र अदालतबाट पक्षमा निर्णय आउँछ भन्ने व्यक्ति सुवास नेम्वाङ नै हुनुहुन्थ्यो। ०५२ भदौ १२ गते फैसला सुन्न एक ठाउँमा बसिरहेका नेताहरूले लवज सुन्दा ‘पक्षमा फैसला हुन्न कि क्या हो ?’ भन्दा ‘होइन, विश्वनाथ उपाध्यायको बानी नै सुरुमा नकारात्मक चर्चा गरेर अन्तिममा सकारात्मक फैसला गर्नेछ’ भनेको नेताहरूले बिर्सेका छैनन्।

२. २०७३ मा तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर केपी ओलीको सरकार अल्पमतमा परिसक्दा पनि सुवास नेम्वाङले ‘संविधानमा नयाँ सरकार बन्ने धारा नै छैन, ओलीले सरकार छाड्नुपर्दैन’ भनिरहनुभएको थियो। राजनीतिक हैसियत गुमिसक्दा पनि जति उकासे पनि सरकार बच्न सक्ने कुरा थिएन र बचेन। बरु, यसबाट क्षति मात्रै भयो।