काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहराटार पुगेका छन्। सोमबार अपरान्ह बोहोटारस्थित निवास बोहराटार पुगेर सभापति देउवाले पौडेलसँग करिब एक घण्टा संवाद गरेका हुन्।
भेटमा सभापति देउवाले प्रतिनिधिसभा विघटनको विषयमा पार्टीभित्र साझा धारणा रहेको सन्देश बाहिर नगएको भन्दै एउटै मत बनाएर जान पौडेलसँग आग्रह गरेको कांग्रेस स्रोतको भनाई छ। ‘पार्टी फरक-फरक देखिने गरी नजाऔं। एउटै देखिने गरी जाउँ,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
कांग्रेसमा संसद विघटनलाई कसरी लिने भन्ने विषयमा मतभेद छ। संस्थापन पक्षले विघटनलाई घुमाउरो रुपमा समर्थन गर्दै अब चुनाव केन्द्रित हुनुपर्ने बताइ हरेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विघटन असंवैधानिक भएकाले पुनःस्थापनाको पक्षमा सडक आन्दोलनमा जानुपर्ने बताइ रहेको छ। प्रारम्भि रुपमा कांग्रेसले विघटनलाई ‘असंवैधानिक’ भने पनि त्यसपछि औपचारिक रुपमा थप बोलेको छैन।
यससन्दर्भमा भएको दुई नेताबीचको भेटलाई महत्वका साथ हेरिएको छ। देउवाको एकभए जान गरेको प्रस्तावपछि जवाफमा पौडेलले प्रधानमन्त्री केपी ओलीले संविधानलाई धारापमा पारेकोले कांग्रेस संविधानको रक्षाको पक्षमा उभिनुपर्ने बताएका छन्। ‘संविधानलाई केपी ओलीले धरापमा पारेका छन्, संविधानको रक्षामा उभिनुपर्छ । विधि रक्षाका लागि कांग्रेस छ भन्ने भरोसा जनतालाई दिनुपर्छ,’ पौडेललाई देउवाले भनेका थिए।
आफूले सभापति देउवासँग फरक मत राखेर हिँड्न नखोजेको भन्दै पौडेलले पार्टीलाई सिद्धान्तमा हिँडाउने प्रयास गरेको बताएका थिए। त्यस्तै, देउवाले पार्टीको महाधिवेशनका विषयमा केन्द्रीय समितिबाट कार्यतालिका संशोधन गर्नेबारे पनि पौडेलसँग छलफल गरेका थिए। ‘पार्टीको आसन्न महाधिवेशन र समसामयिक विषयमा छलफल भयो। यो पार्टीका नेताहरुबीचको भावनात्मक सम्बन्ध विकासको रुपमा मैले बुझेको छु,’ भेटबारे चिन्तन पौडेलले भने।



लोकपाटी न्यूज

